काठमाण्डौ / दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा भुटानलाई हराउँदै नेपालले स्वर्ण पदक जितेको छ। दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपालले भुटानलाई २–१ गोल अन्तरले हराउँदै स्वर्ण पदक जितेको हो।

योसँगै नेपालले जारी सागमा ५१ स्वर्ण पदक जितेको छ। खेलको १७औँ मिनेटमा नेपालका लागि अभिषेक रिजालले गोल गर्दै अग्रता दिलाएका थिए। तर त्यसको केही बेरमै भुटानका कप्तान चेन्चो ग्याल्सेनले बराबरी गोल फर्काएका थिए। त्यसपछि लगातारमा भुटानले नेपालमाथि दबाब बनाउने प्रयास जारी राख्यो।

तर दोस्रो हाफको सुरुमै सुनिल वलको गोलमा नेपालले २–१ को अग्रता बनायो। ५३औँ मिनेटमा सुनिलले गोल गरेका हुन्। भुटान पहिलो पटक साग फुटबलको फाइनलमा पुगेको हो। नेपाललाई हराउँदै फुटबलमा अर्को इतिहास रच्ने भुटानको सपना भने पूरा भएको छैन। तर भुटानले पछिल्लो समय गरेको प्रदर्शनले भने मन जित्न सफल भएको छ।

केही वर्षअघि निकै कमजोर मानिने भुटानी फुटबल पछिल्लो समय निकै निखारिँदै गएको छ। यसअघि जारी सागकै समूह चरणमा नेपालले भुटानलाई ४-० ले हराएकाे थियाे।