इटहरी / चर्चित वालगायक प्रीतम आर्चायलाई इटहरी उपमहानगरपालिकाले सम्मान गरेको छ। लैगिंक हिंसा विरुद्धको प्रथम इटहरी सम्मेलनको अवसरमा वालगायत आर्चायलाई नगद ५१ हजारसहित सम्मान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास मन्त्री जीवन घिमिरेले सम्मान गर्नुभयो। भारतको जिटिभिवाट प्रशारण हुने चर्चित रियालिटि सो सारेगम लिटिल च्याम्समा प्रितम तेश्रो भएका थिए।

इटहरी ५ का ११ बर्षिय वालक प्रितम आर्चायलाई इटहरी उपमहानगरको कार्यपालिका वैठकले ५१ हजारसहित सम्मान गर्ने निर्णय गरेको थियो। नियमानुसार कर कटौती गरेर पुरस्कारसहित सम्मान गरिएको हो। इटहरी उपमहानगरले गरेको सम्मानबाट आफू उत्साहित भएको प्रितमले वताउनुभयो।

प्रितमलाई सारेगम लिटिल च्याम्सका लागि भारत जानुअघि इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमले नेपालको झण्डा र नेपाली टोपी लगाइदिएर विदाई गर्नुभएको थियो। तेश्रो भएर नेपाल आउदा उहाँलाई नगरपालिका परिसरमा भब्य स्वागत गरिएको थियो।