काठमाण्डौ / चालु आर्थिक वर्षको पहिलो ४ महिनामा कुकुर र बिरालोका खाना निर्यात गरेर ३४ करोड रुपैयाँ भित्रिएको छ।

भन्सार विभागको तथ्यांकअनुसार ११ देशका लागि ४ महिनामा कुकुर र बिरालोका लागि २ लाख किलो खाना तथा दाना निर्यात भएको छ। यसबाट ३३ करोड ६६ लाख रुपैयाँ आम्दानी भएको छ। भन्सार विभागको तथ्यांकअनुसार सबैभन्दा धेरै अमेरिकामा १ लाख ७४ हजार किलो दाना निर्यात भएको छ, जसबाट २८ करोड ७० करोड रुपैयाँ भित्रिएको छ।

यस्तै क्यानडामा १३ हजार किलो दाना पठाउँदा २ करोड २१ लाख रुपैयाँ भित्रिएको छ। दुबई, बेलायत, हङकङ, जापान, नेदरल्याण्ड्स, सिंगापुर, सियरा लियोन, थाइल्याण्ड, ताइवानलगायतका देशमा कुकुर बिरालाका लागि दाना निर्यात भएको छ। कुकुरका लागि नेपालबाट छुर्पीलगायतका खाद्यबस्तु निर्यात हुने गरेकाे छ। 

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा नेपालको वैदेशिक व्यापारमा केही सुधार आएको छ। चालु आर्थिक वर्षको पहिलो चौमासिक (साउन–कात्तिक) अवधिमा नेपालले निर्यात व्यापार वृद्धि गरेको छ।

गएको वर्षको यही अवधिको तुलनामा यो वर्ष २३.९० प्रतिशतले निर्यात वृद्धि भएको छ। यो आर्थिक वर्षको पहिलो चार महिनामा ३६ अर्ब २७ करोड ९० लाख रुपैयाँ बराबरको सामान निर्यात भएको छ। गएको वर्ष यही अवधिमा २९ अर्ब २८ करोड १७ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको थियो।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा ४ खर्ब ५० अर्ब २९ करोड रुपैयाँ बराबरको विभिन्न सामान आयात भएको छ। गएको वर्ष यही अवधिमा ४ खर्ब ८३ अर्ब ७५ करोड रुपैयाँ बराबरको सामान आयात भएको थियो।