एजेन्सी / पाकिस्तानकी एक स्वास्थ्यकर्मीलाई बच्चा चोरेको आरोपमा पक्राउ गरिएको छ। सो बच्चा उनले आफ्नी निःसन्तान काकीलाई दिनका लागि चोरेको बताएकी छिन्।

बलोचिस्तानस्थित एक अस्पतालबाट ती बालिकालाई जन्मेको केही क्षणमा नै चोरिएको थियो। तर परिवारलाई सुरुमा ती बालिका हराएको भन्नेबारे केही थाहा थिएन किनभने कसैले पनि ती आमाले जुम्ल्याहा सन्तान जन्माएको भन्ने जानकारी दिएका थिएनन्।

बालिकाकी आमा होशमा आएपछि ‘अर्की छोरी खोइ त रु’ भनेर सोधेपछि यसबारे थाहा भएको उनका जेठाजुले बीबीसीलाई जानकारी दिए। अब्दुल हमिदले आमा बन्न लागेकी जामिला बीबीलाई गत बुधबार अस्पताल पुर्‍याएको पुलिसले जानकारी दिएका छन्।

अब्दुलले पुलिसलाई दिएको जानकारी अनुसार जामिला सुत्केरी भएपछि एक बालिका हातमा थमाउँदै बिरामीको अवस्था सामान्य रहेकोले उनलाई घर लैजान भनिएको थियो। यद्यपि, जामिला त्यसको दुई दिनसम्म अर्ध बेहोस् अवस्थामा थिइन्। दुई दिनभित्रै उनीहरुले जुन बालिका घर ल्याएका थिए, उनको ज्यान गयो।

जब उनी होशमा आइन् तब ती नयाँ आमाले यस्तो कुरा खोलिन् जसले पूरा परिवारलाई नै स्तब्ध तुल्यायो। ‘जब शुक्रबार जामिलाको पूर्ण होश आयो तब उनले ‘अर्की छोरी खोइ त’ भनेर सोधिन्। हामी चकित पर्‍यौं,’ अब्दुल हमिदले बीबीसीलाई भने।

पक्राउः

‘अब्दुल हमिदले पुलिसमा ऊजुरी दिएपछि हामीले त्यसदिन सुत्केरी गराउने कक्षमा खटेकी महिला स्वास्थ्यकर्मीलाई पक्राउ गर्‍यौं। र उनले हामीलाई सिधै बच्चा भएको स्थानमा पुर्‍याइदिएन्,’ पुलिस अधिकारी जाहाङ्गीर शाहले भने।

‘उनलाई बच्चालाई अस्पतालबाट बाहिर निकाल्न अन्य दुई साथीले सहयोग गरेका थिए। उनले ती बालिका आफ्नी काकीलाई दिइन् जसको विवाह भएको १७ वर्ष भइसकेको थियो तर सन्तान भने थिएनन्। ती नर्सले हामीलाई उनकी काकीले निकै अघिदेखि धर्मसन्तान पाल्न इच्छुक भएको बताइन्।’पुलिसले सबै चार महिलालाई पक्राउ गरेको छ र बच्चालाई आफ्नो घर फिर्ता गरिदिएको छ।