काठमाण्डौ / नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ काठमाण्डौ शाखाले कोहलपुर घटनाको विरोध प्रदर्शन गरेको छ। नेविसंघ काठमाण्डौ जिल्ला शाखाले आइतवार बाँकेको कोहलपुरमा प्रहरीले विद्यार्थीमाथि गरेको दमनको विरोधमा सोमवार पशुपति क्याम्पस चाबहिल अगाडि प्रदर्शन गरेको हो।

पशुपति क्याम्पसबाट शुरू भएको विरोध र्‍याली चाबहिल चोक परिक्रमा गरेर पशुपति क्याम्पसमा आएर सभामा परिणत भएको थियो। कार्यक्रममा नेविसंघ काठमाण्डौका अध्यक्ष मनोज वैद्यले कोहलपुरमा प्रहरीको दमनबाट घाइते भएका विद्यार्थीलाई सरकारले निःशुल्क उपचार गर्नुपर्ने बताउनुभयो। ‘विद्यालयको पोसाक लगाएका विद्यार्थीमाथि कुटपिट गर्ने प्रहरीलाई कारवाही गर्नुपर्छ,’ उहाँले भन्नुभयो।

आइतवार बिहान ट्रकले ठक्कर दिएर कक्षा ७ मा अध्ययनरत प्रकृति चन्द गम्भीर घाइते भएपछि विद्यार्थी आन्दोलनमा उत्रेका थिए। ट्रकको ठक्करबाट गम्भीर घाइते चन्दको हाल ललितपुरको बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ।