इटहरी / इटहरी उपमहानगरले लैङ्गिक हिंसा न्यूनिकरणका १६ दिने अभियानका क्रममा २४ वटा कार्यक्रम सम्पन्न गरेको छ। मंगलबार बिहान ८ वजेदेखि लैगिंक हिंसा विरुद्ध इटहरी सम्मेलन हुदैछ।

उपमेयर लक्ष्मी गौतमका अनुसार दुर्गापार्टी प्यालेसमा सामाजिक विकास मन्त्री जीवन घिमिरेले उदघाटन गर्नुहुने सम्मेलनमा इटहरीका तीनसय जनाको सहभागिता रहने छ। गत एक बर्षको अभियानको समीक्षा गर्दै आगामी एक बर्षे कार्य योजना तयार गर्दै सम्मेलनले इटहरी घोषणा पत्र तयार गर्ने छ।

सम्मेलनमा इटहरीको लैङ्गिक हिंसाको अवस्थाको वारेमा उपमेयर गौतमले प्रतिवेदन प्रस्तुत गर्नुहुने छ। प्रतिवेदन तयारीका लागि इटहरीको सवै वडाहरुमा प्रश्न पठाएर सर्वेक्षण गरिएको छ। यसबर्षदेखि सुरु हुने लैङ्गिक हिंसा विरुद्धको इटहरी सम्मेलनलाई प्रत्येक बर्ष निरन्तरता दिइने उपमेयर गौतमले बताउनुभयो।

ithari sammelan इटहरीमा लैङ्गिक हिंसा न्यूनिकरणका लागि उपलब्धिमूलक र परिणाममुखि कार्यक्रमहरु संचालन गरिएको उहाँको भनाई छ। लैङ्गिक हिंसा विरुद्धका कार्यक्रमहरु शहरमुखि भए भनेर आरोप लागि रहेको वेला इटहरी उपमहानगरले भने गाँउ वस्तिका घर-घरसम्म पुग्ने गरि अभियान संचालन गरिरहेको छ। देशभर १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान चलिरहेको वेला इटहरीमा भने गत बर्ष देखिनै बार्षिक अभियान चलिरहेको छ।

उपमेयर गौतमका अनुसार अभियानलाई घर घर पुर्‍याउनका लागि इटहरीका सवै वडाहरुमा लैङ्गिक हिंसा विरुद्ध प्रतिरक्षा समूह गठन गरिएको छ। प्रतिरक्षा समूहका पदाधिकारीलाई पाँच दिने तालिम समेत दिइएको छ। एउटा वडाको तीनवटा वस्तिहरुमा वालिका किशोरीहरु रहेको साथी समूह गठन गरिएको छ।

ithari sammaln इटहरीका सवै वडाहरुमा गरि ६० वटा साथी समूह गठन गरिएको छ। साथी समूह र प्रतिरक्षा समूहले वडा लैङ्गिक हिंसाका वारेमा चेतना फैलाउने छन। उनीहरुले लैङ्गिक हिंसा हुनै नदिन आधारभूत तहसम्म सचेतना अभियान पुर्‍याउने छन। हिंसा भइहाले पीडितलाई न्यायको पहुचमा पुर्‍याउन सहयोग गर्नेछन।

उपप्रमुख लक्ष्मी गौतमका अनुसार साथी समूहका सदस्यहरु त्यहाँका हरेक ब्यक्तिको साथीजस्तै भएर काम गर्नेछन,उनीहरुले त्यहाँको जानकारी उपमहानगरमा र उपमहानगरको जानकारी समूदायमा पुर्‍याउने छन। समाजमा सबैले सम्मानपूर्वक वाँच्न पाउने अवस्था सृजना गर्नका लागि साथीसमूहले भूमिका खेल्नेछन।

साथीसमूह र प्रतिरक्षा समूहका सदस्यहरुको संयोजनका लागि साथी शिक्षकहरुको ब्यवस्था गरिएको छ। समाजसेवामा रुची भएका युवालाई दुईदिनको तालिम दिएर स्वयंसेवी रुपमा प्रत्येक वडामा एक एक जनाका दरले परिचालन गरिएको छ।