सुनसरी / शनिबार सुनसरी र झापा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीनजनाको ज्यान गएको छ भने तीनजना घाइते भएका छन्। इटहरी –१३ खनारमा रोकेको ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ।

शनिबार बेलुका सडकको किनारमा रोकि राखेको ट्रकमा इटहरीबाट बिराटनगरतर्फ जाँदै गरेको को १४ प ६०२३ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक इटहरी–११ का २५ वर्षीय अशोक चौधरीको ज्यान गएको हो।

दुर्घटनामा ट्रकको सिसा पुछिरहेका ट्रक चालक सिन्धुली–६ का ३१ वर्षीय गंगाप्रसाद नेपाल समेत घाइते भएका थिए। घाइते दुबैलाई उपचारको लागि न्युरो अस्पताल विराटनगर लागिएकोमा मोटरसाइकल चालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

शनिबार दिउँसो सप्तरीबाट रामधुनीतर्फ जन्ती बोकेर आउँदै गरेको ना ५ ख ४९८९ नम्बरको बसका सहचालक सप्तरीको सप्तकोशी नगरपालिका–१ का ४५ को सन्तोष गुप्ताको ज्यान गएको छ। बसमा काम गर्ने क्रममा लडेर घाइते भएपछि उपचारको लागि न्युरो अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा ज्यान गएको हो।

यस्तै, झापाको कन्काई नगरपालिका–७ बिरिङखोला पुलस्थित पूर्व-पश्चिम राजमार्गमा दुईवटा मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन्।

शनिबार राति पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १० प २९५४ र मे११प २९२८ नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका तीनजनालाई नै उपचारको लागि बिएण्डसी अस्पताल विर्तामोड लगिएकोमा उपचारको क्रममा मे ११ प २९२८ नम्बरको मोटरसाइकल चालक नितेश न्यौपानेको ज्ष्यान गएको हो।