काठमाण्डौ / इंग्लिस प्रिमियर लिग फुटबलमा यो सिजनको पहिलो ‘म्यानचेस्टर डर्बी’ भिडन्तमा साबिक विजेता म्यानचेस्टर सिटी नमिठो गरी हारेको छ। आइतबार राति सिटीको घरेलु रंगशाला सिटी अफ् म्यानचेस्टर स्टेडियममा भएको खेलमा सिटीलाई पाहुना टोली म्यानचेस्टर युनाइटेडले १–२ ले स्तब्ध बनायो।

युनाइटेडले यो खेल जित्दा आफ्नो खास प्रतिस्पर्धीलाई उसकै घरमा हराएर ३ अंक मात्रै जितेन, उसले गत सिजनको च्याम्पियनलाई हालको लिग लिडर लिभरपुलभन्दा स्पष्ट रूपमा १४ अंकले पछि पारिदिएको छ। सिटीका लागि युनाइटेडसँगको हार सम्भवतः यो सिजनकै सबैभन्दा महँगो हार साबित हुनेछ।

सिटीको घरमा सुरुआतबाटै हाबी भएको युनाइटेडले खेलको २३औं मिनेटमा मार्कुस रासफोर्डको पेनाल्टी गोलमार्फत् अग्रता लिएको थियो। बक्समा सिटीका बर्नान्डो सिल्भाले फउल गरेपछि रेफ्रीले युनाइटेडलाई पेनाल्टीको मौका दिएका थिए, जसमा रासफोर्डले कुनै गल्ती नगरी बललाई जाली चुमाए।

पहिलो गोल गरेको ६ मिनेटमै युनाइटेडले अग्रता दोब्बर बनायो। यसपटक डेभिड जेम्सको पासमा एन्थोनी मार्सियालले पोस्टको माथिल्लो पोल च्यापेर हानेको प्रहारले जाली चुमेपछि सिटी आफ्नै घरमा ०–२ ले पछि रह्यो। त्यसअघि पनि रासफोर्डको लामो दूरीको एक शक्तिसाली प्रहार बारमा लागेर बाहिरिँदा सिटी गोल खानबाट बचेको थियो।

दोस्रो हाफमा सुरुआताबाटै खेलमा फर्किन सिटीले कडा संघर्ष गरे पनि उसले ढिला गरी ८५औं मिनेटमा मात्रै गोल फर्कायो। कर्नरमा आएको बलमा निकोलास ओटामेन्डीले हेडिङमार्फत् गोल गरेर गोलअन्तर घटाए पनि त्यसपछि सिटीले गोल गर्न नसक्दा खेल युनाइटेडले १–२ ले जित्यो।

अब यो हारपछि सिटी १६ खेलपछि ३२ अंक बनाएर तेस्रो स्थानमा छ। ऊ समान खेलपछि लिभरपुलभन्दा १४ अंकले पछि परेको छ। विजयी युनाइटेड भने २४ अंक जोडेर पाँचौं स्थानमा चढेको छ।