काठमाण्डौ / १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई २-१ ले पराजित गरेको छ। 

पहिलो हाफको १८ औं मिनेटमा माल्दिभ्सका इब्राहिम महुदीले गोल गर्दै माल्दिभ्सलाई अग्रता दिलाएका थिए। तर खेलको ४३ औँ मिनेटमा नेपालका लागि अभिषेक रिजालले गोल गर्दै बराबरी गरे।

पहिलो हाफमा बराबरीमा रहेको अवस्थामा नेपालले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै १ गोल थपेको हो। 

खेलको ५२औँ मिनेटमा नेपालका लागि अनन्त तामाङले हेडमार्फत गोल गरेर नेपालको जित सुनिश्चित गरेका हुन्। 

नेपालका २ वटा प्रहार साइडबारमा लागेर बाहिरिएको थियो भने २५ औं मिनेटमा सुनिल बलले प्रहार गरेको फ्रि किकलाई गोलकिपरले बचाएका थिए।

२६ औं मिनेटमा माल्दिभ्सका गोलकिपर विट भइसकेका बेला अन्य खेलाडीले हेडरमार्फत बल किलियर गरेका थिए।

यो जितले नेपाल ३ खेलमा सात अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ। अब नेपालले लिगको अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ। त्याे खेलमा नेपाल बराबरीमा रोकिए पनि फाइनलमा पुग्नेछ।