एजेन्सी / मेस्सीको देश अर्जेन्टिनामा बनाइएको मेस्सीको सालिक पनि पटक–पटक तोडफोड तथा आगजनी हुने गरेको छ। हालसम्म मेस्सीको सम्मानमा भनेर बनाइएको सालिक आफ्नै देशका समर्थकहरूले तीनपटक तोडफोड गरिसकेका छन्। देशका लागि उपाधि जित्न नसक्दा मेस्सी अर्जेन्टिनामा सधैं आलोचित छन्।

फ्यानहरूको मेस्सीले बार्सिलोनाका लागि मात्रै राम्रो खेल्ने गरेको भन्ने आरोप छ। जब अर्जेन्टिना कुनै प्रतियोगितामा हार्छ, मेस्सीकै शालिक निशानामा पर्छ। र, तोडफोड हुन्छ। यो कुराले मेस्सी निकै दुःखी हुन्छन्। उनले यो कुरा आफैं भन्ने गरेका छन्।

तर, स्पेनमा भने उनै मेस्सीको सम्मानमा सालिक निर्माण हुने भएको छ । त्यो पनि क्लब बार्सिलोना वा मेस्सीको कुनै निजी संस्था वा समर्थकहरूले होइन। स्पेनिस फुटबल संघ आफैंले सो सालिक बनाउने योजना अघि बढाएको छ। यस्तो रिपोर्ट क्याटलानको प्रतिष्ठित पत्रिका ‘सेर क्याटलान’ छापेको छ।

संघले मेस्सीको सालिक निर्माण गर्ने निर्णय गरिसकेको छ। तर, कस्तो र कहिलेसम्म भन्ने तोकेको छैन। मेस्सीको सालिक बार्सिलोना रंगशाला वा त्यसको आसपासमा नभएर रियल मड्रिडको रंगशाला रहेको मड्रिड सहरमा बनाउनेछ।

संघले मेस्सीले विश्व फुटबलको विकासमा दिएको योगदानको कदरमा सालिक बनाउन लागेको हो। यसअअघि स्पेनिस फुटबल संघले लिजेन्ड खेलाडी डिएगो स्टेफानो (रियल मड्रिड), पेले (ब्राजिल) र म्याराडोना (अर्जेन्टिना) को सालिक बनाइसकेको छ।

संघ अहिले मेस्सीले सक्रिय रूपमा खेल्दाखेल्दै सालिक बनाउने कि उनले सन्यास लिइसकेपछि बनाउने भन्नेमा स्पष्ट भइसकेको छैन। यसअघिका सालिक भने खेलाडीले फुटबलबाट सन्यास लिइसकेपछि निर्माण गरिकएो थियो।