कैलाली / नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कर्मचारीतन्त्रले परिवर्तनलाई आत्मसाथ नगर्दा संघीय व्यवस्थामै चुनौती देखा परेको बताउनुभएको छ। 
 
शुक्रबार धनगढीमा ‘सुदूर पश्चिम वित्तीय सम्मेलन’मा सम्बोधन गर्दै दाहालले राजनीतिक परिवर्तनसँगै पुरानो राज्य व्यवस्थामा काम गरेका कर्मचारीलाई बिदा गर्न नसक्नु आफूहरुको ठूलो कमजोरी भएको पनि बताउनुभयो।
 
कर्मचारीले विभिन्न बहाना बनाएर नेताको दिमाग खराब गरिरहेको टिप्पणी गर्नुभएका दाहालले नेताले हार्ने र कर्मचारीले जित्ने अवस्था आउन नहुने पनि बताउनुभयो।
 
उहाँले कर्मचारीहरु नयाँ व्यवस्थामा काम गर्नै नसक्ने खालका भएको पनि आरोप लगाउनुभयो। दाहालले भन्नुभयो, ‘संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछि पुरानो संरचनामा काम गरेका हाकिमहरुको एउटा लेयरलाई सम्मानजनक रुपमा बिदा गर्नुपर्थ्यो। तपाईँहरु पुरानो स्कुलको मान्छे पर्नुभयो। हामी नयाँ स्कुलका मान्छे पर्यौँ। हामीले साह्रै ठूलो परिवर्तनको घोषणा गर्‍यौँ, तपाईँहरुलाई बुझ्न गाह्रो हुन्छ भन्दै उहाँहरुलाई बिदा गर्नुपर्थ्यो। ’
 
दाहालले नयाँ व्यवस्थामा पुराना कर्मचारीलाई हटाएर आफूहरुले नयाँ र सक्षम कर्मचारी ल्याउन नसकेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘हामी तपाईँहरुको ठाउँमा आफूले भनेका मान्छे ल्याउँथ्यौँ। गोल्डेन ह्यान्डसेक वा अरु केही दिएर उहाँहरुलाई सम्मानपूर्वक रुपमा बिदा दिनुपर्थ्यो। तपाईँहरु बिदा भएर घर घर जानुस् अरु पेशा गर्नुस् भन्नुपर्थ्यो। सुरुमै सम्झौता नै गरेर बिदा गर्नु पर्थ्यो। मैले नै गर्न सकिनँ। अरुलाई के भन्नू। गर्न त सबैभन्दा बढी मैले गर्नुपर्थ्यो। सबैलाई बिदा गर्न गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री मै भएको थिएँ। तपाईँहरु हुन्न भन्न सकिनँ। अहिले यसो हेर्दा संविधानअनुसार चल्न पर्यो भन्दा नमान्ने कर्मचारीलाई बिदा गर्न नरोक्नु पर्ने हो नि। तर हामी त्यसो गर्न सकिरहेका छैनौँ। बरु कर्मचारीहरुलाई प्रदेश र स्थानीय तहमा दिइएको अधिकार पनि संघतिरै लैजाने काम भएको छ।’
 
दाहालले संघीयता लागू गर्ने सवालमा कर्मचारीतन्त्रबाट असहयोग भएको पनि आरोप लगाउनुभयो। कर्मचारीहरु केन्द्रिकृत मानसिकताबाट मुक्त हुन नसकेको बताउँदै दाहालले अहिलेको अवस्था हेर्दा फेरि पनि उपलब्धि गुम्ने हो कि भन्ने खतरा देखिएको बताउनुभयो।