दाङ / रोकिराखेको ट्रयाक्टरमा मोटरसाईकल ठोक्किदा रेशम वलीको ज्यान गएको छ। अर्का एकजना घाइते भएका छन्।

घोराही उपमहानगरपालिका वडा नम्बर ८ निवासी १९ बर्षीय वलीको उपचारका क्रममा गएराति ज्यान गएको छ। मोटरसाईलकलको पछाडि सवार घोराही १० का १८ बर्षीय अमृत चौधरी घाइते भएका छन्।

घाइते चौधरीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको प्रारम्भीक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ।

दाङ जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहका अनुसार शुक्रवार राति साढे ९ बजेतिर तुलसीपुरवाट नारायणपुरतर्फ जाँदै गरेको रा २ प १९५० नम्वरको मोटरसाईकल घोराही ११ खैराचोकमा रोकिराखेको रा १ त १९३८ नम्वरको ट्रयाक्टरको ट्रलिमा ठोक्किएको थियो।

दुर्घटना लगतै दुबै घाइतेलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही उपचारका लागि लगिएको भएपनि मोटरसाईकल चालक वलीको भने उपचारको क्रममा राति नै ज्यान गएको प्रहरीले बताएको छ।