काठमाण्डौ / अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुले मंहगो ब्याजदरमा कर्जा दिएर व्यापार गर्ने दिन सकिएको बताउनुभएको छ। 

ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाल मर्ज भएपछि शुक्रबार एकीकृत कारोबारको सुरुवात गर्दै अर्थमन्त्री खतिवडाले ठूलो बैंक बनेपछि ब्याजदरलाई मात्र हेर्न नहुने बताउनुभएको हो। 

उहाँले अर्थतन्त्रको संरचना परिवर्तन भएको अवस्थामा व्यापारमा मात्र लगानी गर्नेभन्दा मध्यकालीन र दीर्घकालीन लगानी बढाउन ध्यान दिनुपर्ने बताउनुभयो। त्यसका लागि ठूलो आकारको बैंक हुँदा सहज हुने उहाँको भनाइ थियो। 

उहाँले अल्पकालीन लगानीबाट दिगो आर्थिक विकास लिन नसकिने बताउँदै ठूलो पुँजी निर्माणका लागि ठूलो बैंक आवश्यक रहेको समेत बताउनुभयो। उहाँले ठूलो बैंकले विदेशी वित्तीय संस्थाबाट पुँजी भित्र्याउने क्षमता बढाउन सक्ने उल्लेख गर्दै अब कर्मचारीको वृद्धि विकास र सूचना प्रविधिमा लगानी बढाउनसमेत आग्रह गर्नुभयो। 

उहाँले ठूलो बैंक भएपछि ठूलो परियोजनामा मात्र लगानी गर्ने र साना तथा मझौला उद्यमीहरुमा कर्जा प्रवाह कम गर्ने अवस्था आउन नदिन बैंकहरुले साना तथा मझौला कर्जा प्रवाह गर्ने (एसएमई) डेस्कलाई अझ प्रभावकारी बनाउन जोड दिनुभयो। 

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले मर्जरपछि बैंकहरु ठूलो बन्दै जानु अर्थतन्त्रका लागि सकारात्मक भएको बताउनुभयो। उहाँले बैंकहरुले प्रविधिमा लगानी बढाइ पछिल्लो समय देखिएका चुनौतीलाई कम गर्नुपर्नेमा जोड दिनुभयो। 

गभर्नर नेपालले बैंकमा रहेका कर्मचारीलाई चेकबुक कसलाई दिनुपर्छ भन्ने सम्म थाहा नहुने अवस्था आउन नदिन क्षमतावान कर्मचारी छनोटमा ध्यान दिन आग्रह गर्नुभयो।

ग्लोबल आइएमई बैंक र जनता बैंक गाभिएपछि देशकै सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको छ। ठूलो बैंकले अर्थतन्त्रमा विशेष महत्व राख्ने भन्दै अर्थमन्त्री खतिवडाले पुँजी निर्माणका लागि बैंकका अन्य सूचकहरुमा ध्यान दिनसमेत आग्रह गर्नुभयो।