एजेन्सी / इंग्लिस क्लब लिभरपुलका समर्थकहरूले २०१९ को बालोन डि‘ओर घोषणा निर्णयको विरोध गरेका छन्। उनीहरूले क्लबको घरेलु रंगशाला एनफिल्डबाहिर प्रवेश क्षेत्रमा ‘बालोन डि‘ओर चोरी भएको’ भन्दै सार्वजनिक सूचना लेखिएको झन्डा टाँगेर व्यंगात्मक रूपले अवार्ड घोषणा निर्णयप्रति विरोध जनाएका हुन्।

यस वर्ष स्पेनिस बार्सिलोनाका लिओनल मेस्सीले लिभरपुलका भर्जिल भान डाइकलाई मात्रै ७ अंकको झिनो अन्तरले पछि पारेर छैटौंपटक बालोन डि‘ओर जितेका थिए। तर, यसपटक च्याम्पियन्स लिग र युइएफए सुपर कप विजेताको हैसियतमा भान डाइकलाई प्रमुख दाबेदार मानिएको थियो।

लिभरपुलका समर्थकहरूले आफ्ना खेलाडी भान डाइकको अवार्ड अन्य कसैले चोरी गरेको बताउँदै भेटेर फिर्ता गर्न अनुरोध गरेका छन्। उनीहरूले अवार्ड भेटेर फिर्ता गर्नेलाई इनाम दिनेसमेत भनेका छन्।

फ्यानहरूले भान डाइकको तस्बिरसहितको ब्यानर–झन्डा टाँगेर झन्डामा बालोन डि‘ओर कसैले चोरेको र यदि कसैले भेटे त्यसको हकदार व्यक्तिलाई फिर्ता गर्न पनि भनेका छन्। झन्डामा लेखिएको छ–

‘बालोन डि‘ओर चोरी भएको छ। यदि कहीं–कतै फेला परेमा यसको हकदार व्यक्तिलाई फिर्ता गर्न अनुरोध छ।’

अहिले सो झन्डा सामाजिक सन्जालमा भाइरल बनिरहेको छ। लिभरपुलका थुप्रै फ्यानहरूले सामाजिक सन्जालमा सो तस्बिर सेयर गर्दै चोरी भएको बालोन डि‘ओर फिर्ता गर्नेलाई इनाम समेत दिने भन्दै व्यंग्य गरिरहेका छन्।