एजेन्सी / भारतको तेलंगानामा डाक्टरको बलात्कार र हत्यामा संलग्न चार आरोपी पुलिस इन्काउन्टरमा मारिएका छन्। पुलिसका अनुसार उनीहरुलाई त्यही अन्डरब्रिजमा पुर्याइएको थियो जहाँ आरोपीले डाक्टरलाई पेट्रोल हालेर जलाएका थिए।

भारतीय संचार माध्यम भास्करका अनुसार त्यहाँ उनीहरुलाई त्यस दिन घटना कसरी गराइएको थियो भनेर सोधपुछ गरिएको थियो। त्यही क्रममा उनीहरु भाग्न थाले। त्यसपछि पुलिसले गोली चलाउनु पर्यो जसका कारण चारैजनाको मृत्यु भएको छ।

१४ दिनको न्यायिक हिरासतमा :

हैदराबादमा २७ नोभेम्बरमा स्कूटरको टायर पंक्चर भएपछि टोल प्लासा नजिकै मद्दतको प्रतिक्षा गरिरहेकी २७ वर्षे पशुचिकित्सकको बलात्कारपछि हत्या गरिएको थियो। डाक्टरको जलेको शव घटनाको भोलिपल्ट बिहान भेटिएको थियो। पुलिसले यो मामलामा चार आरोपीलाई पक्राउ गरेको थियो।

पक्राउ हुनेमा मोहम्मद आरिफ, जोलू शिवा, जोलू नवीन र चिन्ताकुन्टा चेन्नाकेशवुलु थिए। आरिफको उमेर २६ वर्ष थियो भने अन्य आरोपी २० वर्षका थिए। यी सबै ट्रक चालक र सरसफाइकर्मी थिए।

उनीहरुले रक्सी पिएपछि सात घण्टासम्म डाक्टरमाथि बलात्कार गरेको बताइन्छ। त्यसपछि पीडितलाई शादनगरको बाहिर इलाकामा जलाइएको थियो। चारैजना आरोपीलाई अदालतले १४ दिनका लागि पठाइएको थियो।