एजेन्सी / इटालियन युभेन्टसका पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले छैटौंपटक बालोन डि‘ओर विजेता स्पेनिस बार्सिलोना तथा अर्जेन्टिनाका लिओनल मेस्सीलाई बधाई सन्देश दिएका छन्। इटालियन सिरी ‘ए’ अन्तर्गत गत सिजनका लागि सिजनको बेस्ट खेलाडीको अवार्ड थापेपछि मिडियासँग कुरा गर्दै रोनाल्डोले आफ्ना खास प्रतिस्पर्धी मेस्सीलाई बालोन डि‘ओर जितेकोमा बधाई ज्ञापन गरेका हुन्।

तीन दिनअघि मेस्सीले फ्रान्सको पेरिसमा छैटौंपटक बालोन डि‘ओर जितेका थिए। उनले इंग्लिस क्लब लिभरपुलका डच डिफेन्डर भर्जिल भान डाइकलाई पछि पारेर कीर्तिमानी छैटौंपटक अवार्ड जित्दा रोनाल्डो भने तेस्रो मात्रै बनेका थिए।

तर, रोनाल्डो भने अवार्ड घोषणा सभामा भाग लिए गएनन्। सोही दिन रोनाल्डोले मिलानमा सिरी ‘ए’ को बेस्ट खेलाडीको अवार्ड थापेका थिए।

भान डाइकलाई रोनाल्डोको जवाफ !

त्यस्तै, रोनाल्डोले यसपटक अवार्डमा दोस्रो बनेका लिभरपुलका डिफेन्डर भान डाइकलाई पनि व्यंग्यात्मक जवाफ दिएका छन्। रोनाल्डोले भान डाइकलाई ‘पहिलोपटक बालोन डि‘ओर घोषणा सभामा भाग लिन गएको’ भन्दै भान डाइकलाई कडा व्यंग्य हानेका छन्। भान डाइकलाई रोनाल्डोले जवाफ फर्काएका हुन्।

भएको के थियो भने, भान डाइक अवार्ड जित्न पेरिस गाएका बेला पाँचपटक बालोन डि‘ओर जितिसकेका रोनाल्डोको ‘मजाक’ उडाउँदै मिडियासँग प्रतिक्रिया दिएका थिए। सो कुरा निकै भाइरलसमेत भयो। अवार्ड घोषणा हुने सभामा भाग लिन पेरिस पुगेका भान डाइकसँग पत्रकारले रोनाल्डो सभामा नआएको विषयमा सोध्दा उनले ‘रोनाल्डो दाबेदार नै नभएपछि किन आउने त’ भनेर उत्तर दिएका थिए। उनले मजाक उडाउँदै–हाँस्दै भनेका थिए– ‘के तपाईंलाई लाग्छ कि, यहाँ आउन क्रिस्टियानो अवार्डका दाबेदार थिए ? ’

भान डाइकको सो भनाइको थुप्रैले आलोचना गरे। लिभरपुलकै थुप्रै फ्यानले भान डाइकले एकपटक बालोन डि‘ओर मनोनयनमा पर्दैमा धरातल बिर्सिएको र पाँचपटक सोही अवार्ड जितेका रोनाल्डोको विषयमा केटाकेटी जसरी ‘अपमानजनक’ ढंगले टिप्पणी गरेको भन्दै खरो गाली गरेका थिए।

लिभरपुलकै फ्यानले भान डाइकको सामाजिक सन्जाल ट्वीटरमा मेन्सन गर्दै लेखेका छन्, ‘रोनाल्डो युनाइटेडमा छँदा तीन सिजन लगातार प्रिमियर लिग जित्ने खेलाडी हुन्। भान डाइक, तिमी पहिला एकपटक जितेर देखाऊ। दुई वर्षअघि च्याम्पियन्स लिगको फाइनलमा तिमी रोनाल्डोकै टिमसँग हारेको नबिर्स। तिमी आफू सम्मान चाहन्छौं भने अरूलाई पनि सम्मान देऊ। तिमी २८ वर्षमा पहिलोपटक फ्रान्स म्यागजिनको कार्यालय पुग्यौ, रोनाल्डो त्यहीं पुगेर थुप्रैपटक अवार्ड जित्ने खेलाडी हुन्। शान्त होऊ भर्जिल शान्त। तिमीले रोनाल्डो र मेस्सीको विषयमा मजाक गरेको सुहाउँदैन।’

छिनभरमै भान डाइकको ‘मजाक’ भाइरल भएपछि रोनाल्डो पनि के कम! इटालीबाट भान डाइकका नाममा पेचिलो व्यंग्य हानिहाले। उनले मेस्सीलाई बालोन डि‘ओर जितेकोमा न्यानो बधाई दिँदै भान डाइकलाई मजाकको जवाफ फर्काएका छन्। रोनाल्डोले भनेका छन्, ‘बालोन डि‘ओर जितेकोमा मेस्सीलाई हार्दिक बधाई। साथै, जीवनमा पहिलोपटक बालोन डि‘ओर सभामा जानेलाई पनि बधाई।’