काठमाण्डौ / नेपाली कांग्रेसले सरकारकै कारण १ हजार २ सय मेघावाटको बुढीगण्डकी जलविद्युत् परियोजनाको भविष्य अन्योलतामा धकेलिएको आरोप लगाएको छ। सरकारले मंसिर १६मा सार्वजनिक गरेको बुढीगण्डकी प्रभावितहरुको मुआब्जा न्यून भएको कांग्रेसको ठहर छ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले मुआब्जा नागरिकलाई विश्वासमा लिनेतर्फ नभई नागरिकको समर्थनलाई भड्काउने तर्फ लक्षित भएको उल्लेख गर्नुभयो। सरकारले स्थानीयको विश्वास लिन नसकेको आरोप कांग्रेसले लगाएको छ।

प्रवक्ता शर्माले बुढीगण्डकीको भविष्यलाई अध्यारो सुरूङतर्फ धकेल्न सरकार उद्यत रहेको टिप्पणी गर्नुभयो। आरुघाट र खहरे बजार क्षेत्रको जग्गाको मुआब्जा निर्धारण अव्यवहारिक र अवैज्ञानिक भएको कांग्रेसको ठहर छ। स्थानीय बासिन्दासँग पर्याप्त छलफल नगरी मुआब्जा निर्धारण गर्दा असन्तुष्टी एवं आक्रोश जन्मिएको कांग्रेसले जनाएको छ।

डिजेल र पेट्रोल खरीद गर्दा प्रतिलिटर ५ रुपैयाँका दरले उपभोक्तामार्फत परियोजनाका लागि ३८ अर्ब संकलन भइसकेको छ। नेपाली कांग्रेसको नेतृत्वमा सरकार भएको समय अर्थविद् डा.स्वर्णीम वाग्ले संयोजक रहेको अध्ययन टोलीले परियोजना नेपाल देश आफैले निर्माण गर्न सक्ने निष्कर्ष निकालेको थियो।