काठमाण्डौ / काठमाण्डौको तापक्रम शुक्रबार बिहान बिहीबारको भन्दा झण्डै एक डिग्री सेल्सियसले घटेको छ।काठमाण्डौको शुक्रबार बिहानको तापक्रम ४ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। यो यस वर्षकै कम तापक्रम हो।

यसअघि बिहीबार काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो। सामान्यतया राति आकाश खुल्ला हुँदा बिहानको तापक्रम घट्छ भने बादल लागे तापक्रम बढ्छ। राति काठमाण्डौको मौसम सफा भएकाले शुक्रबार बिहानको तापक्रम घटेको हो।

यसअघि गएको आइतबार काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ३ डिग्री सेल्सियसमा झरेको थियो।त्यसयता बढेको तापक्रम शुक्रबार फेरि घटेको हो। काठमाण्डौको शुक्रबार दिउँसोको तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ।

शुक्रबार पश्चिमी पहाडी क्षेत्रको मौसम आशिंकदेखि सामान्य बदली हुने तथा अरु ठाउँको मौसम आशिंक बदली हुने मौसमविद्ले अनुमान गरेका छन्। तर कतै पनि पानी पर्ने संभावना भने नरहेको उनीहरुको भनाई छ।