बिराटनगर / महानगरले आकाशे पुल निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा ग्राफिक डिजाइन स्वीकृतिका लागि सडक विभागमा पठाएको छ।

निर्माणका लागि बोलपत्र आह्वान भएसँगै बिराटनगर–धरान सडक खण्ड अन्तर्गत पर्ने कञ्चनबारी चोक, बरगाछी चोक र महाबीर चोक (घाँस चोक)मा आकाशे पुल निर्माण गरिने भएको हो।

सर्वसाधारणलाई सडक वारपार गर्न कठिनाइ भएको र आकाशे पुल नहुँदा जथाभावी बाटो काट्नुपर्ने अवस्था भएकाले रानी–इटहरी–धरान छ लेन सडक अन्तर्गत पर्ने चारवटा चोकमा आकाशे पुल निर्माण गर्न लागिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले जानकारी दिनुभयो।

सो पुल पूर्ण ‘स्टिल स्ट्रक्टर’ मा आधारित हुने भएकाले कुनै कारणले अन्यत्र सार्नु परेमा वा मोनोरेल सञ्चालनका क्रममा हटाउनु पर्ने अवस्था उत्पन्न भएमा पुनः प्रयोगमा ल्याउन सकिने इन्जिनियर अर्जुन थापाले बताउनुभयो।

तीस मिटर चौडा सडकमा दुवै तर्फ गरी ५ मिटर फुटपाथ छोडेर २५ मिटरको लम्बाइमा निर्माण गर्न लागिएको सो योजनामा महानगरले चालु वर्षको ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।