धरान / धरान उपमहानगरका मेयर तिलक राईले कर पुनरावलोकन गर्ने निर्णय गर्नुभएको छ। बुधबार कार्यभार सम्हाल्दै मेयर राईले राजस्व र करको दर पुनरावलोकन गर्ने निर्णय सदर गर्नुभएको हो।

उपमहानगरका प्रशासकीय अधिकृत विनोदकुमार पोखरेलले कर र राजस्व पुनरावलोकन गर्न विज्ञ सम्मेलित अध्ययन कार्यदल बनाउने प्रस्ताव कार्यपालिका बैठकमा लैजान गरेको प्रस्तावलाई मेयर राईले सदर गर्नुभएको छ।

अब केही समयपछि बस्ने नगरकार्यपालिका बैठकमा कर घटाउने प्रस्ताव लगिने मेयर राईले बताउनुभयो। ‘करलाई व्यवहारिक र वैज्ञानिक बनाउने प्रस्ताव सदर गरेको छु,’ उहाँले भन्नुभयो, ‘कर पुनरावलोकन गर्न राजनीतिक दलबाट पनि सहयोग मिल्नेछ।’

नगरवासी र राजनीतिक दलको भावनाअनुसार कर पुनरावलोकन गरी कार्यान्वयनमा ल्याइने मेयर राईले बताउनुभयो। ‘स्थानीय सरकारमा पक्ष र प्रतिपक्ष हुँदैन,’ उहाँले भन्नुभयो, ‘कुनै पार्टी विशेष र व्यक्तिगत कुनै निर्णय हुँदैन। नगरवासीको हितमा हुने गरी सबै निर्णयहरू हुनेछन्।’

उहाँले कर्मचारीलाई क्रियाशीलताका साथ काम गर्न पनि आग्रह गर्नुभयो। मत दिएर जिताउने नगरवासीलाई धन्यवाद दिनुभएका मेयर राईले आफ्नो जित सबैको जित भएको पनि बताउनुभयो। ‘यो सबै दलको जित हो, नगरवासीको जित हो,’ उहाँले भन्नुभयो, ‘अब सबै एक भएर विकास निर्माणका काम गर्नुपर्छ।’