इटहरी / इटहरीको पर्यटकीय क्षेत्र तालतलैयामा युवाहरु १२ घण्टाको लागि मौन ब्रत बसेका छन्। जलवायु परिवर्तनको विषयमा विश्वलाई सन्देश दिन उनीहरु मौन ब्रत बसेका हुन्।

पूर्व कृषि राज्यमन्त्री रामकुमारी चौधरी, सगरमाथा आरोही मदन चुँडाल र शिव डाँगीलगायत ६० जना युवाहरु ‘बाह्र घन्टे मौन सन्देश विश्वलाई’ नाम दिएको कार्यक्रममा मौन बसेका हुन्।

नेपाल सरकारले जलवायु परिवर्तनका मुद्दामा सगरमाथाको फेदी कालापत्थरमा बैठक बसेको १० वर्ष पुरा भएको अवसरमा कार्यक्रम गरिएको कार्यक्रम संयोजक सुरेश कार्कीले जानकारी दिनुभयो। बिहान ६ बजेबाट सुरु भएको मौन ब्रत साँझ ६ बजेसम्म हुने आयोजकले जानकारी दिएको छ।

मौनब्रत सुरु गर्नुअघि इटहरीको सङ्गीत चौकबाट तालतलैयासम्म ‘अपांगमैत्री इको रेस’ समेत गरिएको थियो। पैदलयात्रामा पूर्व भूमिसुधार मन्त्री रामकुमार सुब्बालगायतको उपस्थिती थियो।

२०६६ मङ्सिर १९ गते तत्कालीन माधव नेपाल नेतृत्वको सरकारले ५२४२ मिटरको उचाइमा कालापत्थर बैठक गरेको थियो। नेपालले मन्त्रीपरिषद् बैठक गरेको एक दशकपछि पुन: त्यी मुद्दा सम्झाउन मौन ब्रत कार्यक्रम गरिएको जनाइएको छ।