डाेटी / शिखर नगरपालिकाकी एक युवतीको आगो लगाएर हत्या गरेको आरोप लागेको छ। डाेटीको शिखर नगपालिका वडा नं ४ मुडभराकी २६ वर्षीया भावना भट्टको आगो लगाएर हत्या गरेको माइती पक्षले आरोप लगाएका हुन्।

उहाँका परिवारकै सदस्यले पेट्रोलियम पदार्थ छर्किँदै आगो लगाएर हत्या गरेको भावनाका दाई शालिग्राम भट्टले आरोप लगाउनुभएको छ। हत्यामा उहाँका श्रीमान् मीनराज शर्माकै संग्लनता रहेको भट्टको आरोप छ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) दिलीपसिंह देउवाले घटनाबारे जिल्ला प्रहरी कार्यालयमा कुनै उजुरी तथा जानकारी नआएको बताउनुभयो। उहाँले भन्नुभयो, “घटनाबारे कुनै जानकारी र उजुरी आएको छैन, उजुरी आएपछि प्रहरीले आफनो काम थाल्ने छ।”

शरीरमा आगो लागेपछि मंसिर ७ गते गम्भीर घाइते भएकी भावनालाई उपचारका लागि डोटीकै सुजङ अस्पतालमा पुर्‍याइएको थियो। सो अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि मृतक भावनालाई सेती प्रादेशिक अस्पताल कैलाली पठाएकामा कैलालीबाट पनि उहाँलाई थप उपचारका लागि भारतको बलेरी लगिएको थियो।

बेरी अस्पतालले उहाँको स्वास्थ्य अवस्था सुधार भएको भन्दै घर पठाए पनि घरमा ल्याउँदा उहाँको मृत्यु भएको थियो। भावना र शर्माबीच दुई वर्षअघि मात्रै बिवाह भएको उहाँको घरपरिवारले जनाएको छ।