सिरहा / सिराहाको प्रहरी कार्यालयको हिरासतबाट फरार भएका आठजना मध्ये तीनजना पक्राउ परेका छन्। उनीहरुलाई सिराहाकै बिभिन्न ठाँउबाट पक्राउ गरिएको हो।

गत मंसीर १४ इलाका प्रहरी कार्यालय महेशपुर पतारीको थुनुवा कक्षमा रहेका आठजना थुनुवाहरु फरार भएका थिए। हिरासत कक्षको उत्तरतर्फको गेटको ताला तोडेर उनीहरु फरार भएका थिए।

व्याप्क खोजीका बीच तीनजनालाई बुधबार पक्राउ गरिएको सिराहा प्रहरीले जनाएको छ। एकजनालाई यसअघि फरार भएकै दिन पक्राउ गरिएको थियो।

बुधबार पक्राउ पर्नेमा सिरहाको सखुवानानकरकट्टी गाउँपालिका १ बस्ने २४ वर्षीय रणधीर कुमार यादव, गोलबजार नगरपालिका ६ बने २० वर्षीय गणेशकुमार साह र नरहा गाउँपालिका १ बस्ने १८ वर्षीय नवीनकुमार यादव छन्।

शनिबार राति फरार भएका मोरङका रोशन खड्कालाई पक्राउ गरिसकिएको छ। यी चारैजना लागूऔषधसहित बिभिन्न मितिमा पक्राउ परेका थिए।

हिरासत कक्षको दोस्रो घेरामा ल्याई खाना खुवाउने क्रममा उत्तर तर्फको गेटको ताल्चा तोडी आठजना थुनुवा फरार भएका थिए। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बिभिन्न ठाउँमा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिइएको सिरहाका प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले बताउनुभयो।