काठमाण्डाै / दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष फुटबलमा नेपाल र श्रीलंकाबीचको खेल एकएक गोलको बराबरीमा सकिएको छ।

दशरथ रंगशालामा भएको खेलमा नेपालले एक गोलको अग्रता जोगाउन सकेन। खेलको सुरुवातमा केही सुस्त देखिएको नेपालले त्यसपछि आफ्नो गतिलाई बढाउदै दुईवटा सुन्दर मौका पाएको थियो। तर त्यसमा चुक्न पुग्यो।

खेलको ३३ औंँ मिनेटमा नेपालले पेनाल्टीको अवसर पाएको थियो। अनन्त तामाङलाई श्रीलंकाली खेलाडीले फल गरेपछि पाएको पेनाल्टीलाई कप्तान सुजल श्रेष्ठले गोलमा परिणत गरे। याे गाेल उनको जारी प्रतियोगितामा तेस्रो गोल हो। उनले भुटानविरुद्ध दुई गोल गरेका थिए।

४२ औंँ मिनेटमा नेपालले अर्को मौका पाएको थियो। नेपालका मिक्चेनले गोलकिपरलाई छलाउँदै प्रहार गरेको बललाई श्रीलंकाका खेलाडीले बचाए। त्यसको अर्को मिनेटमा नेपालले फेरि अर्को गोलको अवसर सिर्जना गर्यो तर कप्तान सुजल श्रेष्ठको हेडको प्रयास पोष्ट नजिकैबाट बाहिरियो।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफकाे सुरुवातमा नै अर्को मौका पाएको थियो। ४९ औंँ मिनेटमा अभिशेक रिजालको कर्नरमा विक्रम लामा चुक्न पुगे। त्यसपछि श्रीलंकाले एउटा डरलाग्दो प्रहार गरे पनि नेपाली गोलकिपर विकेश कुथुले बचाए। ८३ औंँ मिनेटमा नेपालले अर्को सुन्दर अवसर पाएको थियो जसमा अनन्त तामाङ डी-बक्स भित्र चुक्न पुगे।

एक गोलले पछि परेको श्रीलंकाले खेलको इन्जुरी समयमा फ्रीकिकमार्फत उत्कृष्ट गोल फर्काउन सफल भयो। 
बराबरीले नेपालकाे दुई खेलबाट चार अंक भएको छ।