काठमाण्डाै / नेपालका लागि बेलायतका आवासीय राजदूत निकोला क्याथरिन पोलिटले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ।

राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार अपराह्न आयोजित विशेष समारोहमा उहाँले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो। यसअघिका राजदूत रिचर्ड माेरिसकाे कार्यकाल समाप्त भएपछि बेलायतले पोलिटलाई नेपालकाे राजदूतमा नियु्क्त गरेकाे हाे।

पोलिटले यसअघि बेलायती मन्त्रीपरिषदमा रहेर अफगानिस्तान, पाकिस्तान र भारत मामिला हेर्नुभएकाे थियाे। 

नेपाल र बेलायतबीच दाैत्य सम्बन्ध कायम भएकाे दुई सय वर्षपछि बेलायतले पहिलाे पल्ट नेपालका लागि महिला राजदूत नियुक्त गरेकाे हाे। बेलायत नेपालले कुटनीतिक सम्बन्ध बनाएकाे पहिलाे राष्ट्र पनि हाे। सन् १८१६ मा नेपालसँग बेलायतले कुटनीतिक सम्बन्ध कायम गरेकाे हाे। 

बेलायतसँग कुटनीतिक सम्बन्ध कायम गर्ने नेपाल दक्षिण एसियाकै पहिलाे राष्ट्र पनि हाे। नेपालले बेलायतमा सन १९३४ देखि राजदूतावास पनि स्थापना गरेकाे थियाे।

त्यसै समारोहमा नेपालका लागि गणतन्त्र लेबनान, इस्टोनिया र इराकका गैरआवासीय राजदूतत्रय राबी नार्स, क्रिष्टिन किभी र डा फलाह अब्दुलहसन अब्दुलसदाले पनि आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो।

त्यस अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्रसचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललगायत राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो।