काठमाण्डौ / धरान उपहानगरपालिका प्रमुखका लागि भएको उपचुनाव हारेको दुई दिनपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उपमहानर कमिटीले संसदीय दललाई निर्देशन दियो, ‘तत्काल करका दर घटाऊ।

निर्वाचनका क्रममा जनताको घरदैलोमा जाँदा करबारे धेरै गुनासो र असन्तुष्टी पाइएकाले आर्थिक वर्ष २०७६/७७ का लागि उपमहानगरले लागू गरेको करको दर पुनरावलोकन गर्नुपर्ने नेकपा धरान निर्वाचन परिचालन कमिटीको निश्कर्ष छ। करको दर तत्काल घटाउन उपमहानगर संसदीय दललाई निर्देशन दिइएको संयोजक रमेश बस्नेतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

चुनाव भइसकेपछि नेकपाले किन करको दर घटाउन निर्देशन दियो त ? नेकपा नेता विजय राईका अनुसार अहिले वडा तहबाटै चुनावी हारको समीक्षा चलिरहेको छ। यसमा सबैको निष्कर्ष छ, मेयरको चुनाव हार्नुको प्रमुख कारण कर नै हो।

राईले भन्नुभयो, ‘अहिले हामी समीक्षाकै क्रममा छौं। तर चुनावी घरदैलोको क्रममा कर वृद्धि भएको धेरै मतदाताले उठाउनु भएको थियो र, मेयरको चुनाव हार्नुको प्रमुख कारण मध्ये एक कर नै हो भन्ने हाम्रो निश्कर्ष छ।’

चुनाव अगाडि नै यो बुझ्न नसक्नु आफूहरुको कमजोरी भएको नेकपाका नेताहरुले बताएका छन्। धरानको मेयरका लागि भएको उपनिर्वाचनमा नेकपाका उम्मेदवार प्रकाश राईलाई पराजित गर्दै नेपाली कांग्रेसका तिलक राई निर्वाचित हुनुभएको छ।