काठमाण्डाै / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएकाले मिर्गाैला प्रत्यारोपण चिकित्सकको सल्लाहमा गर्ने निर्णय गरेको छ।

पार्टी मुख्यालय धुम्बाराहीमा आज बसेको सचिवालय बैठकले उहाँको मिर्गाैलाको डायालाइसिस भइरहेकाले मिर्गौला प्रत्यारोपणबारे चिकित्सकसँग सल्लाह गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले  बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिनुभयो।

'महाराजगञ्जस्थित ‘मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा  प्रधानमन्त्रीको स्वास्थ्य अहिलेको शल्यक्रिया गरिएको एपेन्डिसाइटिसको घाउ निको हुने क्रम रहेको छ, उहाँले भन्नुभयो।

'मिर्गौलाको आवश्यकताअनुसार डायलाइसिसको प्रक्रिया पनि जारी रहेको छ। यसपछि के गर्ने भन्ने कुरा  उपचारको प्रक्रियाबाट पुरै निस्केपछि चिकित्सकको परामर्शमा निर्णय लिइने छ', प्रवक्ता श्रेष्ठले भन्नुभयो।

सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ। स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीको यही मंसिर १० गते केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो। सचिवालय बैठकमा हालै सम्पन्न भएको उपचुनावमा समीक्षा तल्लो तहका कमिटीबाट समीक्षात्मक प्रतिवेदन प्राप्त भएपछि मात्र गर्ने निर्णय गरेको छ।

'अहिलेसम्म औचपारिक रुपमा कहीँबाट पनि घात अन्तरघातको जानकारी प्राप्त भएको छैन तर औपचारिक समीक्षा आगामी बैठकबाट चुनावमा भएका जिल्ला, स्थानीय तह र वडा कमिटीले पठाएको समीक्षात्मक प्रतिवेदन प्राप्त भएपछि गर्ने छौँ', प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयाे।

ती कमिटीलाई बैठकले प्रतिवेदन पठाउन निर्देशनसमेत दिएको छ। नेकपाले सचिवालयको अर्को बैठक आउँदाे मंसिर २३ गते बिहान ९ बजे पार्टी मुख्यालय धुम्बाराहीमा राखेको छ।

बैठकमा उपचुनावको औपचारिक समीक्षा, पार्टी सङ्गठनात्मक एकीकरणको बाँकी कामबारे छलफल र निर्णय, पार्टीको कार्ययोजना तय र स्थायी कमिटी तथा केन्द्रीय कमिटी बैठक बोलाउने बारेमा आवश्यक निर्णय लिने छ।

दाङ घोराही उपमहानगरपालिका विद्रोही उम्मेदवार उठेकालाई तत्कालै कारबाही गरेर निष्कासन गरेको उहाँले जानकारी गराउनुभयो। नेकपाले यही मंसिर १४ गते भएको उपचुनावमा आफूले पहिले जितेको धरान उपमहानगरपालिकाको मेयर र भक्तपुर क्षेत्र नम्बर १ (क)को प्रदेशसभा सदस्य गुमाएको छ।