धरान / धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर तिलक राईले बुधबार पदभार ग्रहण गर्नुभएको छ। गत शनिबार सम्पन्न उपनिर्वाचनमा निर्वाचित भएपछि उहाँले भ्रष्टचारमुक्त र समृद्ध धरान निर्माण गर्ने वाचा साथ पदभार ग्रहण गर्नुभएको हो।

पदभार सम्हाल्नु अघि मेयर राईले धरान १६ स्थित गणेशमान सिंहको शालिक र धरान १९ स्थित धरानका पूर्व मेयर तारा सुब्बाको शालिकमा माल्यार्पण गर्नुभयो। त्यसपछि उपमहानगरपालिका आएर मेयर राईले पदभार ग्रहण गर्नुभएको छ।

उहाँले सचारकर्मीसँग कुरा गर्दै चुनावी प्रचारप्रसारको समयमा बनाइएका चुनावी एजेण्डालाई अक्षरस पालना गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, "चुनावी एजेन्डका वस्तुमाथि खरो रुपले उत्रिन्छु तर त्यसमा स्थानीयको दरो सहयोग रहनुपर्छ।"

उहाँले धरानको बसपार्क निर्माण, विमानस्थल निर्माणको काम तत्काल अगाडी बढाउने बताउनुभयो। उहाँले सर्दु जलाधारको संरक्षण गरि अधुँरो रहेको खानेपानी आयोजनाको चाँडै सम्पन्न गरि धरानवासीलाई प्रर्याप्त खानेपानी उपलब्ध गराउने बताउनुभयो।

मेयर राईले धरानमा यस अगाडी गरिएका राम्रा कामलाई निरन्तरता दिँदै नराम्रा कामलाई सुधार गर्दै अगाडी बढाइने बताउनुभयो। साथै यस अगाडिका जनप्रतिनिधिले वृद्धि गरेको कर घटाउने बताउनुभयो। मेयर राईले शिक्षा, स्वास्थ्य र कृषिमा आधुनिकीकरण गरि धरानमा दीर्घकालिन रुपमा रहेको सुकुम्बासी बस्तीको व्यवस्थापान गर्ने बताउनुभयो।

२०७५ सालसाउन १ गते धरानका तत्कालिन मेयर तारा सुब्बाको निधन भएपछि रिक्त रहेको मेयरको उपनिर्वाचनमा राई कांग्रेसका तर्फबाट निर्वाचित हुनुभएको छ। उहाँले नेकपाका प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले पराजित गर्नुभएको थियो।