बागलुङ / मङ्गलबार बागलुङको बडिगाड गाउँपालिका–७ अल्छीबाङमा जीप दुर्घटनामा ज्यान गुमाएकाको सामुहिक दाहसंस्कार गरिएको छ। इस्मा गाउँपालिका–४ दोहोली र पाँच रजस्थलका १० जनाको सामुहिक दाहसंस्कार गरिएको हो।

लहरै १० जनाको शवको अन्तिम सँस्कार गर्दा मलाली बनेर आएका आफन्त र स्थानीय गाउँले नरुने कोही भएनन्। दुर्घटनामा ज्यान गुमाउने इस्मा–४ का ४० वर्षीय महेन्द्र कार्की, २५ वर्षीया सूचना कार्की, ४० वर्षीया सीता कार्की, ६५ वर्षीय झवि कार्की, ४५ वर्षीय भुमि कार्की, २५ वर्षीया मीना बस्नेत, ६५ वर्षीय धनबहादुर कार्की र दुई वर्षीया अनुस्का कार्कीको दाहसंस्कार गरिएको छ।

त्यस्तै सोही गाउँपालिका वडा नं ५ की ४० वर्षीया बवसुन्धरा कार्की र २३ वर्षीया माया थापाको पनि सामूहिक दाहसंस्कार गरिएको छ।

अस्पतालमै शव

कञ्चनपुरबाट धनबहादुर कार्की पहिलो पटक दाजुभाइ खोज्दै कुलपूजाका लागि इस्मा आउनुभएको थियो तर दाजुभाइसँगको भेट अन्तिम मात्रै रह्यो। जे उद्देश्य बोकेर आए, त्यो पूरा भएन। अन्तत घर समेत फर्किन पाइएन।

कुलपूजाकै लागि इस्मा आएका ५५ वर्षीय कार्कीको पनि दुर्घटनामा परी ज्यान गयो। उनको शव बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। उनका आफन्त आएपछि बुझाइने भएकाले शव अस्पतालमै राखिएको भतिज बद्री कार्कीले जानकारी दिनुभयो।

बडिगाड–५ की ५५ वर्षीया लक्ष्मी केसीको शव आफन्तले गाउँमै बुझेर दाहसंस्कार गरेका छन्। लक्ष्मी घरबाट गाडी चढेको दुई मिनेटमै दुर्घटनामा परेकी थिइन्। इस्मा–४ का गाडी चालक २५ वर्षीय रेशम थापाको शव मङ्गलबार नै परिवारले बुझेका थिए।

बेपत्ताको खोजी, घाइतेको उपचार

दुर्घटनामा परेका इस्मा–४ दोहोलीका धनबहादुर कार्की अहिलेसम्म पनि बेपत्ता छन्। बुहारी सूचना कार्कीको ज्यान गयो। नाति चार वर्षीय हिमाल कार्की अस्पतालमा छन्। मङ्गलबार दिनभर दुर्घटनास्थलमा खोजतलास गरे पनि शव भेटिएको छैन।

दुर्घटनामा नवलपरासी बर्दघाट–२ का १८ वर्षीय जीवन कार्की, गुल्मी इस्मा गापा–४ का चार वर्षीय हिमाल कार्की र २४ वर्षीया निमा केसी घाइते भएका छन्। घाइतेलाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाण्डौ लगिएको छ। अहिले त्रिवि शिक्षण अस्पताल काठमाण्डौमा उपचार भइरहेको छ।

गाउँपालिकाद्वारा शोक बिदा

दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकांश इस्मा गाउँपालिकाका छन्। जसले गर्दा गाउँपालिका र सिङ्गो जिल्ला शोकमा डुबेको छ। इस्माका पनि विशेष गरी कार्की र बस्नेत परिवार बढी शोकमा छन्। कतिका सिन्दूर पुछिएका छन्, भने कतिका काख रित्तिएका छन्। दुर्घटनामा इस्मालीले ज्यान गुमाएको भन्दै गाउँपालिकाले बुधबार शोक बिदा दिएको छ।