काठमाण्डौ / सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले उपनिर्वाचनको समिक्षा प्रतिवेदन तीन दिनभित्र केन्द्रीय कार्यालयमा पठाउन माथाहतका कमिटीलाई निर्देशन दिएको छ।

नेकपा अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले धरान उपमहानगरपालिका, भक्तपुर प्रदेश सभालगायतमा नेकपाको पराजय हुनुको कारण खुलाउन पनि निर्देशन दिएको हो।

उपनिर्वाचनमा नेकपालाई सन्तोषजनक मत खसेको र पार्टी दुई तिहाई बहुमतको अवस्थाबाट नखस्किएको निष्कर्श निकाल्दै सचिवालय बैठकले धरान उपमहानगरमा नेकपाको हारबारे चिन्ता लिएको थियो।

यसैबीच, सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना पनि गरेको छ। सो प्रस्ताव अध्यक्ष दाहाले राख्नुभएको थियो।

यही मंसिर ४ गतेको सचिवालय बैठकले अध्यक्ष दाहाललाई पार्टी र प्रधानमन्त्री ओलीलाई सरकारको काममा केन्द्रित हुने निर्णय गरेपछि दाहालको अध्यक्षतामा बुधबार पहिलो पटक बैठक बसेको हो।