काठमाण्डौ / बलात्कार प्रयासको अभियोगमा जेलमा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई छुटाउन पीडित भनिएकी रोशनी शाहीले उच्च अदालत पाटनमा निवेदन दर्ता गराएकी छन्। जिल्ला अदालतको थुनामा पठाउने आदेश बेरीतको भएको भन्दै महराबाटै बलात्कृत भएकी भनिएकी शाहीले दुई दिनअघि उच्च अदालत पाटनमा निवेदन दिएकी हुन्।

जिल्लाको आदेशविरुद्ध महरा पनि उच्च अदालत गएका छन्। सुनुवाईको क्रममा रोशनीले समेत निवेदन दिएकी हुन्। उच्च अदालत पाटनका रजिष्ट्रार बाबुराम दाहालका अनुसार रोशनीको सो निवेदनलाई अदालत प्रशासनले दरपीठ गरिदिएको छ।

रोशनीले निवेदनमा महराविरुद्धको जाहेरीमा आफूलाई जबर्जस्ती हस्ताक्षर गर्न लगाएको, जिल्ला अदालतले थुनामा राख्न गरेको आदेश कानुनसम्मत नभएकोलगायतका कारण उल्लेख गर्दै थुनामा राख्ने आदेश बदर गर्न माग गरेकी छन्।

निवेदनलाई प्रशासनले दरपीठ गरेपछि रोशनी दरपीठ आदेशविरुद्ध आज इजलासमा निवेदन दिन पुगेकी छन्। रजिष्ट्रार दाहालका अनुसार उनको निवेदन भोलि इजलासमा पेश हुनेछ।

दाहालले जाहेरीकर्ता स्वयं आदेशविरुद्ध निवेदन दिन आएका कारण अदालत प्रशासनले दर्ता अस्वीकार गरेको बताउनुभएको छ। दरपीठविरुद्धको निवेदनलाई इजलासले बदर गरे रोशनीको निवेदन उच्च अदालत पाटनमा दर्ता हुनेछ।

प्रशासनले गरेको दरपीठ आदेशविरुद्ध इजलासमा निवेदन दिन सकिने कानुनी व्यवस्थालाई टेकेर रोशनीले निवेदन दिएकी हुन्। महराले थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध गत ५ मंसिरमा उच्च अदालत पटनमा निवेदन दिइसकेका छन्।

जिल्ला अदालत काठमाण्डौले गत १८ कात्तिकमा महरालाई बलात्कार प्रयासको अभियोगमा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। रोशनीले जिल्ला अदालतमा समेत आफुलाई धम्काएर उजुरी दिन लगाइएको बताएकी थिइन्।