काठमाण्डौ / कहिलेकाँही निकै सुरक्षा सतर्कता अपनाउँदा पनि ठूलो आपतमा मात्र पर्नु पर्दैन ज्यान समेत जान सक्छ। यस्तै घटना भारतमा भएको छ। भारतमा एक महिला डाक्टरको बलात्कारपछि हत्या भएको छ।

हैदरावादको शादनगरकी २६ वर्षीया भेटनरी डाक्टर पोतुला प्रियंका रेड्डी बुधबार अस्पतालबाट घर फर्किदै थिइन्। उनको स्कुटर नजिकैको एउटा प्लाजाको पार्किङ गरिएको थियो। त्यो दिन उनको स्कुटरको टायर पन्चर भएको रैछ। रात परिसकेको थियो। नजिकै वर्कसप थिएन। उनी त्यहीं अभर परेर बसेकी थिइन्।

प्रियंकालाई दुईजना पुरूषले सहयोग गर्ने बताए। उनलाई शुरूमै ती दुई जनासँग डर लागिरहेको थियो तर, घर पनि जानु नै थियो। उनले सहयोग स्वीकारिन् तर केही गरिहाल्छन् कि भन्ठानेर आफ्नी बहिनीलाई फोन गरिन्। भनिन्, ‘म तँसँग कुरा गर्दै आउँछु फोन नकाट्नु।’

केहीबेरपछि त प्रियंकाकै फोन स्विच अफ भयो। छोरी सम्पर्कविहीन भएपछि परिवारले प्रहरीलाई खबर गरे। प्रहरीले खोजी थाल्यो। रातभरि केही पत्ता लागेन।

बिहीबार बिहान शादनगरको चतनपल्ली गाउँका एक किसानले महिलाको शव ह्युम पाइपभित्र भेटिएको खबर पठाए। प्रहरी घटनास्थलमा पुग्यो। त्यहाँ जलेको अवस्थामा प्रियंकाको शव भेटियो। घटनास्थलमा प्रियंकाको स्कार्फ, माला, जुत्ता, पर्सलगायतका सामान पनि आधा जलेको अवस्थामा भेटिए।

प्रहरीले घटनाको अनुसन्धान गर्न १० सदस्यको टोली बनाएको छ। प्रियंकाको बलात्कारपछि हत्या भएको देखिएको छ। बलात्कारको पुष्टी हुन नसकोस् भनेर उनीहरूले प्रियंकालाई जलाएको हुनसक्ने प्रहरीको ठहर छ। प्रियंका हत्या आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ। -एजेन्सी