बागलुङ / साढे दुई वर्षअघि भएको स्थानीय तहको निर्वाचनमा कांग्रेसका तारानाथ पौडेलसँग गाउँपालिका खिमविक्रम शाही अध्यक्ष पदमा ७०० मतले पराजित राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य प्रदेशसभा निर्वाचनमा भने विजयी हुनुभएको छ।

शाही प्रदेशसभाका लागि वाम गठबन्धनको उम्मेदवार हुनुहुन्थ्यो। बागलुङ क्षेत्र नं। २ (ख)मा तत्कालीन आम निर्वाचनमा प्रदेशसभामा निर्वाचित टेकबहादुर घर्तीको कलेजोसम्बन्धी रोगले निधन भएपछि एक वर्षदेखि पद रिक्त थियो।

शनिबार भएको निर्वाचनमा शाहीले कांग्रेसका जितबहादुर शेरचनलाई पराजित गर्नुभएको हो। शाहीले ११ हजार २३५ र शेरचनले नौ हजार १३८ मत पाउनुभयो।

राष्ट्रिय जनमोर्चाका सचिवालय सदस्य रहनुभएका शाही विद्यालय तहमा पढ्दापढ्दै २०४० सालमा अखिल छैटौँको राजनीतिमा लाग्नुभएको थियो। त्सपछि उहाँले विद्यार्थी सङ्गठन हुँदै युवक सङ्गठनमा पनि सक्रिय भएर काम गर्नुभयो।

विसं २०५२ मा राजमोको जिल्ला कमिटी सदस्यमा नियुक्त भएका शाही तीन कार्यकालसम्म जिल्ला सदस्यमै रहनुभयो। गत अधिवेशनमा सचिवालय सदस्य भएका शाही प्रदेशसभा निर्वाचनमा विजयी हुनुभयो।

स्थानीय तहमा पराजित भए पनि निरन्तर सङ्गठनमा लागेको र जनतासँगै एकाकार भएकाले विजयको माला पहिरिन सफल भएको उहाँको प्रतिक्रिया छ। उसो त उहाँ प्रभा माध्यमिक विद्यालयमा शिक्षक हुँदाको सम्बन्धले पनि गण्डकी प्रदेशसभामा पुग्नलाई बाटो खुलेको बताउँनुहुन्छ।

निर्वाचनमा शाहीले कृषिको विकास र आधुनिकीकरणमा भूमिका खेल्ने योजना बनाउनुभएको छ। पश्चिम बागलुङमा उहाँको यही योजना बिकेको छ। सङ्घीयता विरोधी राजमो र सङ्घीयता पक्षधर नेकपाबीचको तालमेलबाट निर्वाचित भएकाले यसपछिको राजनीतिक यात्रा कसरी अगाडि बढ्छ भन्ने चाहीँ हेर्न बाँकी रहेको पश्चिम बागलुङका मतदाताको भनाइ छ।