काठमाण्डौ / राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत गरिए पनि पश्चिम सेती जलविद्युत् र विद्युत् प्रसारण आयोजना कार्यान्वयनमा नरहेको राष्ट्रिय योजना आयोगले जनाएको छ।

राष्ट्रिय गौरवका आयोजना सम्बन्धित मन्त्रालयले सञ्चालन गर्ने भए पनि आयोगले समन्वय एवं अनुगमन तथा मूल्याङ्कन गर्छ। आयोगले प्रकाशन गरेको राष्ट्रिय गौरवका आयोजनाहरूको आर्थिक वर्ष २०७५/२०७६ को वार्षिक प्रगति स्थिति प्रतिवेदनमा दुवै आयोजनाको भौतिक एवं वित्तीय प्रगति शून्य देखाइएको छ।

कार्यान्वयन क्षेत्र डोटी, डढेल्धुरा, बैतडी र बझाङ रहेको पश्चिम सेती आयोजनाबाट ४५० मेगावाट विद्युत् उत्पादन गर्ने अनुमान गरिएको छ। आयोजनाका बारेमा लगानी बोर्डले आवश्यक अध्ययन गरिरहेको विवरणमात्र आयोगमा प्राप्त भएको योजना अधिकृत कृष्ण व्याञ्जुले जानकारी दिनुभयो।

नेपाल सरकार र अमेरिकी सरकारी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशनबीचको सहकार्यमा गत आर्थिक वर्षदेखि राष्ट्रिय गौरवको आयोजनाका रूपमा विद्युत् प्रसारण आयोजना समावेश गरिएको हो। यसका लागि अमेरिकाले ५० करोड अमेरिकी डलर र नेपाल सरकारले १३ करोड अमेरिकी डलर लगानी गर्ने सम्झौता दुई वर्षअघि भएको थियो।