काठमाण्डौ / अर्बौ लगानी गरेका तारे होटलले पर्यटक कम भएपछि २० डलर(२५ सय रुपैयाँ)मा कोठा बेच्न बाध्य भएको छ। नेपालगंजका थ्री स्टार होटल कलपत्रु लर्डस इन नेपालगंज र फोर स्टार स्नेहाले २५ सय रुपैयाँमा कोठा उपलब्ध गराउन थालेका हुन्।

बैंकबाट लिएको अर्ब भन्दा बढीको लगानीमा खुलेका होटल मौसमी व्यापारमा मात्र सीमित रहँदा दीर्घकालमा चर्को घाटा व्यहोर्नु पर्ने भन्दै अहिले होटल व्यवसायीहरु सेवामा विविधतामा केन्द्रित हुने प्रयास गरिरहेका छन्। होटलको स्तर अनुसार मूल्य निर्धारण गर्ने नियम बनाइएपनि वाध्यतावस् कम मूल्यमा रुम विक्री गर्नुपरेको सिद्धार्थ होटलका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले जानकारी दिनुभयो।

होटलमा अस्वस्थ प्रतिस्पर्धाका कारण दुई दशक अघिको भन्दा पनि ५० प्रतिशत कम मूल्यमा कोठा बिक्री भइरहेको स्नेहा होटलका संचालक असित शम्शेर जबराले बताउनुभयो। कैलाश मानसरोबर साथै गैरसरकारी संस्थाका कारण होटल चलायमान भएको तर प्रदेशको अस्थायी राजधानी बुटवल बनेका कारण पनि होटल व्यवसाय जटिल बन्न पुगेको जबराले बताउनुभयो।

अहिले पाँच तारे होटल सोल्टी वेस्टेन्ड प्रिमियरले ५० डलर (५५ सय रुपैयाँ)मा कोठा बिक्री गरिरहेको छ।नेपालगञ्जकै सिद्धार्थ होटलले बेड एण्ड ब्रेकफास्ट सिंगल रुमका लागि चार हजार रुपैयाँ र डबल रुमको छ हजार रुपैयाँमा बिक्री गरिरहेको छ। तर बर्दिया टाइगर रिसोर्टले भने २५ सय रुपैयाँमा कोठा बिक्री गरिरहेको छ।