काठमाण्डौ / प्रधानमन्त्री केपी ओलीलाई थप उपचारका लागि विदेश लैजाने तयारी भएको छ। एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आइरहेको छ। अस्पतालबाट डिस्चार्ज गरेपछि मिर्गौला प्रत्यारोपणका लागि अमेरिका लैजान चिकित्सक र नेकपा शीर्ष नेताबीच छुट्टाछुट्टै छलफल भएको छ।

‘मिर्गौलाको कार्यक्षमतामा पूर्ण ह्रास नआउँदै एकपटक विदेश लैजाने तयारी छ’, उपचारमा संलग्न एक चिकित्सकले भने प्रधानमन्त्री ओलीको एक सातामै दुईपटक डायलासिस गरिसकिएको छ। नेकपाका एक सचिवालय सदस्यले प्रधानमन्त्री ओलीलाई उपचारका लागि विदेश लैजान आन्तरिक छलफल भइरहेको बताए। अमेरिका नै लैजाने कि अमेरिकी चिकित्सकलाई नेपालमै झिकाएर उपचार गराउने भन्नेमा छलफल भइरहेको छ’, ती नेताले भने, ‘अमेरिका लैजाने सम्भावना बलियो छ।’

केही साताअघि प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाह अमेरिकाबाट फर्किनुभएको थियो। वरिष्ठ मिर्गौला रोग विशेषज्ञसमेत शाहले निजी कार्यक्रमका लागि अमेरिका गएको बताउनुभए पनि उहाँले त्यहाँ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे विज्ञ चिकित्सकसँग छलफल गरेको बताउनुभएको छ।

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिन तयार पारिएका नातेदार हाल अमेरिकामै छन्। नातामा भान्जे पर्ने व्यक्ति प्रधानमन्त्री ओलीलाई मिर्गौला दिन तयार रहेको बताइएको छ। प्रधानमन्त्री ओलीको एक महिना अवधिमा सातपटक डायलासिस गरिसकिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री ओलीको थप उपचारका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको ‘फस्र्ट पर्सन नोट’ पठाउँदै शनिबार स्वास्थ्य लाभको कामना गर्नुभएको थियो।

ओलीलाई स्वास्थ्य उपचारका लागि विदेश लैजाने तयारी भएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालको चीन भ्रमण धकेलिएको छ। उहाँ २४ मंसिरमा पार्टी नेताहरुको नेतृत्व गर्दै चीन जाने तयारीमा हुनुहुन्थ्यो।

‘पार्टीभित्र प्रधानमन्त्रीको उपचार विदेश लगेर गरिने गरी आन्तरिक छलफल छ। त्यही कारण अध्यक्ष नेतृत्वको टोलीको चीन भ्रमण धकेलिएको छ,’ दाहालसँगै चीन जाने तयारीमा रहेका नेकपाका एक स्थायी समिति सदस्यले भने।

प्रधानमन्त्री ओलीको उपचारको व्यवस्थापनकै लागि अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्की पनि काठमाण्डौमै हुनुहुन्छ। काठमाण्डौ बोलाइएपछि उहाँ तीन दिनअगाडि स्वदेश आउनुभएको हो। प्रधानमन्त्री ओलीका शुक्रबार गरिने स्वास्थ्य परिक्षणको विवरण हेरेपछि यससम्बन्धी निर्णय गरिने स्रोतले जनाएको छ। यो समाचार आजको अन्नपूर्ण पोसट् दैनिकबाट लिइएको हो।