इटहरी/ छविलाल गिरीका दुई पत्नी मध्ये कान्छी श्रीमतीबाट कृष्ण गिरीको जन्म भएको थियो । उनका सहोदर भाई ऐनकुमार गिरी थिए भने जेठी पट्टीका कृपाध्वोज गिरी हुन् । दुई चेलीहरु पनि छन् । गिरीका ९४ बर्षीय पिता कहिले मोरङको विराटचोकस्थित कान्छा छोरा ऐनकुमारकोमा त कहिले इटहरीको तरहरास्थित बहिनी विष्णुमायाको घरमा बस्दै आएका छन् ।

कृष्णको बाल्यकाल सोलुकै जुवुमै बितेको थियो। त्यहीको स्थानीय विद्यालयमा कक्षा सात अध्ययन गर्दा गदै फेल भएपछि उनि वैरागिएर स्कुल नै जान छाडेका थिए। ०४९ साल तिर घर छाडेर हिडेको ६ बर्षपछि सन्तको भेषमा घर फर्किएका थिए। घर आउनु अघि उनले ६ पेज लामो पत्र समेत लेखेका थिए । आफन्तका अनुसार घर फर्कीदा आफुले भारतका विश्व विद्यालयमा वेदाचार्य गरेको, आयुर्वेदमा आचार्य गरेको, जर्मनको विश्व विद्यालयमा स्नातकोत्तर गरेको दाबी गरेका थिए। उनले ०६५ साल देखि त विद्यावारिधि नै गरेको दावी गर्दै डाक्टर समेत लेख्न थालिसकेका थिए ।

दोहोरो नागरिकता काण्ड

कृष्णदासले सोलुखुम्बु र सुनसरीस्थित जिल्ला प्रशासन कार्यालयबाट उमेर र नाम समेत परिवर्तन गरेर दुईवटा अलग–अलग नेपाली नागरिकताको लिएका छन्। दासले ०६३ सालमा पुरानै नागरिकताबाट सुनसरीको तरहरा (हाल इटहरी) मा जग्गा खरिद गरेका छन्। २०६५ सालमा सुनसरी जिल्ला प्रशासनबाट श्री वैष्णव कृष्णदासको नाममा दोस्रो नागरिकता बनाएका थिए। नयाँ नागरिकता लिइसकेपछि सोही वर्ष कृष्णबहादुर गिरी नामको पुरानो नागरिकताबाट उनले इटहरीमा अढाई कठ्ठा जग्गा खरीद गरेका स्पष्ट प्रमाणले देखाउँछ। नयाँ नागरिकता लिइसकेपछि पनि पुरानो नागरिकताबाट जग्गा खरीद गरेको देखिन्छ। अरु त अरु ०६८ सालमा ‘सिंगापुर लैजान्छु’ भनी दिल्लीमा अलपत्र पारेकाहरुको उजुरीबाट बच्न उनले सोही साल इटहरीमा किनेको अढाई कठ्ठामध्ये १ कठ्ठा जग्गा नारायण गिरीलाई ११ लाख रुपैयाँमामा बिक्री गरेका थिए। सो जग्गा बिक्रीको कारोबार समेत कृष्णबहादुर गिरीकै नामबाट भएको मालपोत कार्यालय सुनसरीको रेकर्डबाट पुष्टि हुन्छ।

कृष्णदासले ०६५ सालमा श्री वैष्णव कृष्णदासको नाममा नयाँ नागरिकता लिएपछि पुरानो सक्रिय नबनाएको भन्दै प्रशासनको आँखामा छारो हाल्ने काम गरेका छन्। त्यति मात्र होइन कृष्ण गिरी उर्फ कृष्णदासले पुरानो नागरिकतालाई २०७० सालमा समेत प्रयोगमा ल्याएको प्रमाण भेटिएको छ। उनले सो वर्ष भाईहरुको अंश हडप्ने उद्देश्यले कृष्णबहादुर गिरीकै नामबाट अंशको जग्गा आफ्नी बहिनीलाई बिक्री गरेका थिए। पहिलो नागरिकता भने गिरीले सोलुबाट नाम कृष्ण बहादुर गिरीको नाममा लिएका छन्। पहिलो नागरिकताको ठेगाना जुबु १ सोलु र जन्म मिति २०३० साल मंसिर १० गते लेखिएको छ । नागरिकता नम्बर २२२७।५९५ रहेको छ ।

दोस्रो नागरिकता भने २०६५ साल पुष १७ गते सुनसरीबाट श्री बैष्णब कृष्णदासका नाममा लिइएको छ। नागरिकतामा उनको जन्मस्थान भने जुबू सोलु र, स्थाई बसोबास बराहक्षेत्र १ सुनसरी उल्लेख छ। जन्म मिति २०३१ साल फागुन १९ गते लेखिएको छ। नागरिकता नम्बर ०६९००४ र १३२८०८ नम्बर छ। दुबै नागरिकतामा जन्म स्थान जुबु सोलु र बुवाको नाम भने छबिलाल गिरी नै लेखिएको छ।

भाइमारा सिद्धबाबा

अंश मुद्धामा आफ्नै भाइलाई धोका दिएको समाचार तीन बर्ष अघि बाहिरए पछि कृष्णदासले पत्रकारहरुले ल्यापटप मागेको र आफूले नदिएपछि समाचार लेखेको भन्दै मिडिया संञ्चालकहरुलाई फोन गरेका थिए। गिरीका कान्छा भाई ऐनकुमार गिरी भने दाजु कृष्ण दासले आफूलाई अन्याय गरेको भन्दै अहिले पनि न्यायको खोजिमा छन् ।

कृष्णदासले भाइलाई दिनु पर्ने ५ लाख रुपैयाँको चेक बाउन्स हुँदा पनि प्रहरीले शक्तिको आडमा पक्राउ गरेको थिएन । कृष्णदासले संगोलमा सुनसरीमा रहँदाको जमिन आफुले मासेपछि भाइलाई सो बाफत पैसा दिन्छु भनी २०७१ पुस ११ गते पाउने गरी मेघा बैंकको पाँच लाखको चेक काटेका थिए । मेघा बैंकको खाता नम्बर ००१००५०२०९०१४ र चेक नम्बर २०४३७७७५ चेक भाईलाई थमाइ दिएका थिए । तर चेक लिएर जाँदा सो चेकको खातामा पैसा नभएको र दिइएको चेकको ठेली नै हराएको भनी खातावालाले चेक रद्ध गर्नु भनि बैंकमा निवेदन दिएपछि भाइले आफु आफ्नै दाईबाट ठगिएको पत्तो पाएका थिए ।

ऐन अहिले मोरंगको बिराटचोकमा खेति किसानी गर्छन । अर्का भाइ भने बैदेशिक रोजगारीमा दुवैमा छन् । पटक पटक कृष्ण दासलाई व्यबहार मिलाउन आग्रह गरेपछि ऐनलाई कृष्ण दासका अनुयायीहरुले ज्यान मार्ने सम्मको धम्की दिएका थिए । प्रहरीले समेत भाइलाई त्यो बेला मानसिक यातना दिएको थियो ।

बैदेशिक रोजगारीको ठगी धन्दा

०६८ सालमा कृष्णदासले आफन्त सहितका १० जना नेपालीलाई अबैध बाटोबाट सिंगापुर पठाइदिने भन्दै भारतीय एजेन्टहरुको सहयोगमा दिल्ली पुराएका थिए । दिल्लीमा लगेर उनले ती सबैलाई केही दिनसम्म अलपत्र पारी सिंगापुर ट्रेनिंङको नाममा जान दवाब दिइएको थियो । तर सिंगापुर जान लाखौं खर्च गरी दिल्ली गएकाहरुले आफूहरु वर्किंङ भिसामा मात्र जाने र त्यसैको नाममा पैसा लिएपछि धोकामा नपर्ने बताएपछि कृष्णदासको ठगि धन्दा बाहिर आएको थियो । केही भारतीय दलालसँग मिलेर सोझा युवालाई विदेश पठाउने धन्दामा संलग्न रहेको र सो क्रममा उनले ११ जनालाई अलपत्र पारी पैसा समेत खाइदिएका तथ्य बाहिरिएको थियो ।

गिरीको यो समाचार अपराध न्युज का लागि मनोज भुजेलले लेखेका हुन्।