एजेन्सी / भारतको तमिलनाडु राज्यमा सोमबार भारी वर्षापछि घरका पर्खाललगायतका संरचनाहरु भत्किँदा चार परिवारका कम्तीमा १७ जनाको ज्यान गएको छ। भारी वर्षाका कारण सोमबार बिहान ती व्यक्तिहरु सुतिरहेको अवस्थामा घरको पर्खाल भत्किँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ।

भारतीय दक्षिणी राज्य तमिलनाडुको गाउँमा भएको सो घटनामा दुई बालबालिकासहित १७ जनाको ज्यान गएको जनाइएको छ। मुसलधारे वर्षापछि सो घटना भएको प्रहरी स्रोतले एएफपी समाचार समितिलाई सो जानकारी दिएको छ।

स्थानीय समयानुसार सोमबार बिहान ५ः३० बजे सो घटना भएको टाइम्स अफ इन्डिया दैनिकले जनाएको छ। भारतमा घरलगायतका संरचना भत्किनु एक सामान्य घटनाको रुपमा रहेको पाइन्छ। कमजोर संरचनाहरूका कारण यस्तो घटना हुने गरेको विज्ञहरुको भनाई छ। गत जुलाईमा मुम्बईमा भएको यस्तै घटनामा कम्तीमा ३० व्यक्तिको ज्यान गएको थियो।