काठमाण्डाै / कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले उपचुनावकाे परिणामले सरकारप्रति जनताको असन्तुष्टि बढेको पुष्टि भएकोे बताउनुभएको छ। 

मंसिर १४ गते भएको उपचुनावकाे अन्तिम परिणामपछि कांग्रेसले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले सरकारप्रति असन्तुष्टि बढ्दै गएको पुष्टि उपचुनावले गरेको बताउनुभयो।

उहाँले कांग्रेसले उपचुनावमा परिणामलाई भन्दा निर्वाचनको प्रकृयालाई ध्यान दिँदा निस्पक्ष र भयरहीत वातावरणमा निर्वाचन भएको बताउनुभयो। उहाँले सरकार चुनावलाई भयरहीत र निस्पक्ष बनाउन भन्दा निर्वाचन आयोगको आचारसंहितालाई उलंघन गरी प्रदेश प्रमुखहरुको पदलाई रिक्त गर्ने र नयाँ नियुक्त गर्ने तथा मन्त्री मण्डलको पुर्नगठन गर्न केन्द्रित भएको आरोपसमेत लगाउनुभयो।

यस्तो अवस्थामा कांग्रेसले केही स्थानीय तह गुमाएको भए पनि उपत्यकाको भक्तपुर र धरान उपमहानगरपालिका लगायतका महत्वपूर्ण स्थानमा जित हासिल गरेको बताउनु भयो। प्रवक्ता शर्माले उपचुनावकाे परिणामले कांग्रेस कहाँ छ भन्नेहरुलाई जवाफ दिएको समेत बताउनुभयो।

उहाँले मतदाताले दूरगामी अर्थ राख्नेगरी सन्देश दिएको भन्दै नेपाली कांग्रेस हरेक मतप्रति प्रतिबद्ध रहेको समेत बताउनुभयो।