काठमाण्डौ / उपचुनावको नतिजाले राष्ट्रिय राजनीति र संसदीय समीकरणमा कुनै असर नपर्ने भए पनि सबैजसो दलहरुले यसलाई सुरुदेखि नै प्रतिष्ठाको विषय बनाएका थिए। उनीहरुले यसलाई जनमत परीक्षण गर्ने मौका परीक्षाजस्तो ठानेका थिए।

यसैअनुसार दलहरुले प्रचारप्रसारलाई भड्किलो बनाए। केन्द्रीय नेताहरु वडाध्यक्षको उम्मेदवारलाई समेत भोट माग्न पुगे। तर प्रतिनिधिसभा, प्रदेशसभा र पालिकाका विभिन्न ५२ स्थानका लागि भएको उपचुनावको नतिजा कुनै पनि दललाई सोचेजस्तो भएन। पहिले पालिकामा एक्लाएक्लै लडेका तत्कालीन एमाले र माओवादी अहिले एक भएर लड्दा पनि त्यसअनुसारको परिणाम आएन।

सरकारले जनभावनाअनुसार काम नगरेकाले उपचुनावको परिणाम आफूअनुकूल हुने प्रमुख प्रतिपक्षी कांग्रेसको अनुमान पनि फेल खायो। मुख्य दुई दल नेकपा र कांग्रेसबीच केही ठाउँमा साटफेर भए पनि समग्रमा परिणाम यसअघिको जस्तै देखिएको छ।

प्रतिनिधिसभातर्फ उपचुनाव भएको एक मात्र कास्की २ मा नेकपाले जित दोहोर्‍याएको छ। यसअघि रवीन्द्र अधिकारीले जितेको यो ठाउँमा यसपटक विद्या भट्टराई निर्वाचित हुनुभएको छ। प्रदेशसभाअन्तर्गत भक्तपुर १ (क)मा नेकपाले आफ्नो सिट गुमाएको छ। त्यहाँ कांग्रेसका उम्मेदवार विजयी भएका छन्। प्रदेशसभातर्फ भने दाङमा नेकपाले र बागलुङमा राष्ट्रिय जनमोर्चाले जित दोहोर्‍याएका छन्।

उपचुनाव भएको एउट मात्रै उपमहानगरपालिकामा कांग्रेस विजयी भएको छ। यसअघि यहाँ एमालेका उम्मेदवार विजयी भएका थिए। यसपटक तत्कालीन एमाले र माओवादी एक भएर बनेको पार्टी कांग्रेससँग पराजित भएको छ। भक्तपुरको प्रदेशसभामा जस्तै धरानको मेयर पदमा पनि नेकपालाई धक्का लागेको छ।

एक प्रदेशसभा सदस्य र एक उपमहानरपालिकाको मेयर गुमाएको नेकपाले दुई गाउँपालिकाको अध्यक्ष र एक उपाध्यक्षमा भने संख्या थपेको छ। उपचुनाव भएको तीन गाउँपालिकाको अध्यक्षमध्ये संखुवासभाको मकालुमा नेकपाले जित दोहोर्‍याएको छ। यसअघि कांग्रेसले जितेको पाँचथरको फाल्गुनन्द र राजपाले जितेको महोत्तरीको पिपरामा पनि नेकपा विजयी भएको छ।

एउटा गाउँपालिकाको उपाध्यक्षमा पनि नेकपा विजयी भएको छ। यसअघि कांग्रेसले जितेको हुम्लाको खार्पुनाथ गाउँपालिकामा नेकपा विजयी भएको हो। उपचुनाव भएको ४३ वडामध्ये कांग्रेस र नेकपाबीच केही स्थानमा साटफेर भएको छ। यसअघि कांग्रेसले जितेका ७ वडामा नेकपा र यसअघि नेकपाले जितेका ६ वडामा कांग्रेस विजयी भएको छ।

प्रदेशसभामा जित दोहोर्याउन सफल राष्ट्रिय जनमोर्चाले यसअघि जितेको एउटा वडा चाहिँ गुमाएको छ। समाजवादीले यसअघिको दुईवटा वडा बढाएर चार पुर्याएको छ भने एउटा गाउँपालिका गुमाएको राजपाले दुईवटा वडामा जित दोहोर्याउँदै एउटा वडा थपेको छ।

समग्रमा नेकपा एक प्रतिनिधिसभा, एक प्रदेशसभा, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र २४ वडा गरी ३० स्थानमा विजयी भएको छ। यस्तै कांग्रेस एक प्रदेशसभा, एक उपमहानगरपालिका र ११ वडा गरी १३ ठाउँमा विजयी भएको छ। जनमोर्चाले एक प्रदेशसभा, समाजवादीले चार वडा र राजपाले तीन वडा जितेका छन्।

साझा र विकेकशील पार्टीले चर्चाअनुसार कहीँ पनि उल्लेखनीय मत ल्याउन सकेनन्। पहिलोपटक चुनावमा भाग लिएको सिके राउतको पार्टीको मत पनि नगण्य आयो। चुनावी नतिजाले दलहरुलाई आत्मसमीक्षा गर्ने अवसर भने दिएको छ। दुई तिहाईको सरकार हुँदा पनि सोचेजस्तो परिणाम नआएपछि सत्तारुढ नेकपालाई नागरिकको भावनाअनुसार काम गरेर देखाउनुपर्ने चुनौती थपिएको छ।

सँगै पार्टी एकीकरणको भावना कार्यकर्तास्तरसम्म पुग्न नसकेको उपचुनावको परिणामले प्रष्ट देखाएको छ। प्रदेश र वडाको नतिजा हेर्दा अझै पनि कार्यकर्तामा एमाले र माओवादीअनुसारको गुटगत स्वार्थले नछोडेको जस्तो देखिन्छ।

प्रमुख प्रतिपक्षी कांग्रेसलाई पनि सरकारको विरोध गरेर मात्रै जनमत आफ्नो पक्षमा पार्न सकिंदो रहेनछ भन्ने पाठ मिलेको छ। (उज्यालोबाट)