कास्की २ मा नेकपा र कांग्रेस बाहेक सबै उम्मेदवारकाे जमानत जफत

  • बिजय ओझा
  • प्रकाशित मिति: मंसिर 16, 2076

कास्की / कास्की क्षेत्र नम्बर २ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको चुनावमा १९ उम्मेदवारको जमानत जफत भएको छ। त्यस क्षेत्रमा २१ जनाले मनोनयन दर्ता गराएकामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली का‌ंग्रेसका उम्मेदवारबाहेक सबैको जमानत जफत भएको हो।

जमानत जोगाउनका लागि खसेको मतको १० प्रतिशत मत पाउनुपर्ने निर्वाचन ऐनमा उल्लेख छ। कास्की २ मा ७१ हजार ८७१ मतदातामध्ये  ४५ हजार ५४६ ले मतदान गरेका थिए। जमानत जोगाउनका लागि कम्तीमा चार हजार ५५६ मत चाहिने थियो। चुनावी मैदानमा २१ जनामध्ये पाँच मत कटाउन नसकेका उम्मेदवारको संख्या छ रहेको छ। स्वतन्त्र उम्मेदवारका रुपमा रहनुभएका उहाँहरुमा दुई जनाले एक–एक मत, तीन जनाले चार–चार मत र एक जनाले पाँच मत पाउनुभएको छ।

राष्ट्रिय दलको मान्यताप्राप्त पार्टी समाजवादी पार्टीका उम्मेदवारको पनि जमानत जफत भएको छ। कास्की २ मा मतको आधारमा तेस्रो स्थानमा रहनुभएका त्यस दलका धर्मराज गुरुङले एक हजार ९२२ मत मात्र प्राप्त गर्नुभयो।

त्यस्तै राप्रपाका रोमबहादुर भण्डारीले एक हजार १५३, साझा पार्टीकी रजनी केसीले ९४२, राष्ट्रिय प्रजातन्त्र पार्टी(संयुक्त)की  गङ्गा मल्लले ९५, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर रानाले ३५, देशभक्त समाज पार्टीका वीरबहादुर विश्वकर्माले ११, नेकपा(माले)का टेकनारायण भण्डारीले ५१, मङ्गोल नेशनल अर्गनाइजेशनका रियाज गुरुङले १३८, कांग्रेस (बीपी)का चन्द्रबहादुर रानाभाटले २८ र विवेकशील पार्टीकी स्वतन्त्र उम्मेदवार जमुना शर्माले ७७ मत पाउनुभएको छ।

स्वतन्त्र रुपमा चुनावी मैदानमा उत्रनुभएका उमानाथ गौतमले एक, कमलजङ्ग कुँवरले ६१,  दीपक रेग्मीले पाँच, नवराज बाँस्तोलाले १८, यज्ञप्रसाद पङ्गेनीले एक, रनबहादुर दमैले चार, लक्ष्मीकुमारी भुजेलले चार, सुनिलबहादुर कोइरालाले ११ र सुनिल भुसालले चार मत पाउनुभएको  छ।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

फोन नम्बर: ०२५-५८९३५१, ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

प्रेस काउन्सिल दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2019 - Purbikhabar.com All rights reserved