काठमाण्डौ / १३औँ दक्षिण एसियाली खेलकुद (साग) को महिला क्रिकेटमा नेपालले माल्दिभ्समाथि १० विकेटको जित निकालेको छ। १७ रनको लक्ष्य नेपालले ५ बलमा पूरा गर्‍याे।  

यसअघि पहिले ब्याटिङ गरेको माल्दिभ्सले निकै फितलो प्रदर्शन गर्‍याे। माल्दिभ्सका कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

माल्दिभ्सविरुद्ध अञ्जली चन्दले महिला क्रिकेटमा कीर्तिमानी बलिङ गरिन्। उनले माल्दिभ्सविरुद्ध एक रन पनि नदिँदा ६ विकेट लिएर नयाँ कीर्तिमान बनाइन्।

उनले पहिलो ओभर मेडन राख्दै तीन विकेट लिइन् । त्यस्तै दोस्रो ओभरमा पनि एक रन पनि खर्चिनन्। र तेस्रो ओभरमा थप एक विकेट लिइन्। जसका कारण उनले महिला क्रिकेटमा कीर्तिमानी फिगर बनाइन्।

यसअघि कम रन दिएर धेरै विकेट लिने कीर्तिमान मलेसियाकी मास एलिसाको नाममा थियो। एलिसाले चीनविरुद्धको खेलमा ४ ओभरमा १ मेडन राख्दै ३ रन दिएर ६ विकेट लिएकी थिइन्।

अब नेपालले डिसेम्बर ४ मा बंगलादेश र डिसेम्बर ६ मा श्रीलंकासँग खेल्नेछ। शीर्ष दुई टोलीले स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन्।