काठमाण्डौ / अमेरिकाको साउथ डकोटा राज्यमा भएको विमान दुर्घटनामा नौ जनाको ज्यान गएको छ। हिउँआँधिमा परेर विमान दुर्घटनामा परेको स्थानीय उद्धारकर्मीले जनाएका छन्।

विमानमा यात्रारत अरु तीनजना सख्त घाइते भएका छन्। एकल इन्जिनको पिलाटस पिसी–१२ नामको सो विमान शनिबार च्याम्बरलेन बिमानस्थलबाट उडेको केही समयभित्रै दुर्घटनाग्रस्त भएको अमेरिकी संघीय उड्डयन कार्यालयले जनाएको छ।

विमानमा कूल १२ जना सवार थिए। सो विमान छिमेकी इडाहो राज्यको इडाहो फल्स क्षेत्रीय विमानस्थलतर्फ उडिरहेको थियो। ज्यान गुमाउनेहरुमा दुई बालबालिका तथा विमानका पाइलट समेत रहेका छन्।

अमेरिकी नागरिक उड्डयन कार्यालयले विमान दुर्घटनाका बारेमा छानबिन थालेको जनाएको छ।