काठमाण्डौ / दक्षिण एसियाली खेलकुद (साग)को उद्घाटन आज हुँदैछ। त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा हुने उद्घाटन साँझ पाँच बजे हुनेछ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सागको १३ औं संस्करणको उद्घाटन गर्नुहुनेछ। दक्षिण एसियाली खेलकुदका चार पटकका स्वर्ण पदक विजेता तथा ओलम्पियन दिपक विष्टले ओलम्पिक टर्च बाल्नेछन्।

तीन घण्टा २४ मिनेट लामो रहने उद्घाटन समारोहमा नेपालको हिमाल, पहाड, तराई, बहुजातीय, भेषभुषाको विविधता झल्किने झाँकीहरु पनि प्रस्तुत हुनेछ। उद्घाटन समारोहमा १५ हजारभन्दा बढीको सहभागिता रहनेछ। यस्तै, सहभागि देशका खेलाडीले मार्चपास गर्नेछन्।

उद्घाटनमा विभिन्न कलाकारहरुले पनि सांगितिक प्रस्तुती दिनेछन्। अञ्जु पन्त, दिपक बज्रचार्यलगायत राष्ट्रिय कलाकारहरुले सांगीतिक प्रस्तुति दिनेछन्। उद्घाटनसँगै भलिबलको सेमिफाइनल खेल हुनेछ भने ब्याडमिन्टन, खोखो र करातेको पनि उद्घाटन हुनेछ।