कञ्चनपुर / मोटरसाइकल ‘ओभरटेक’ गरेको निहुँमा कञ्चनपुरमा दीपक पन्तको कुटपिट गरी हत्या भएको छ। महाकाली नगरपालिका–३ का २२ वर्षीय पन्तको कुटपिट गरी हत्या भएको हो।

महेन्द्रनगरबाट दोधारा चाँदनी जाने क्रममा मोटरसाइकल ‘ओभरटेक’ गरेको भन्दै भीमदत्त नगरपालिका–१८ मा चारजनाको समूहले पन्तमाथि चक्कु र हेलमेट प्रहार गरी हत्या गरेका हुन्। 

पन्तको हत्याको आरोपमा प्रहरीले भीमदत्त नगरपालिका–१५ गोबरैयाका १९ वर्षीय विनोद बोहरा, २२ वर्षीय मनिष नाथ, २० वर्षीय नवीन सिंह र जानकी टोलका २२ वर्षीय गणेश लुहारलाई पक्राउ गरेको छ।

पन्तमाथि कुटपिट गर्ने चार जनासहित एउटा मोटरसाइकल र एउटा स्कुटर पनि प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका चारै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कुटपिटबाट गम्भीर घाइते पन्तको महाकाली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि भारत लैजाने क्रममा बाटोमै ज्यान गएको हो।