काठमाण्डौ / नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोको अफिसियल फेसबुक पेजमा मंसिर ८ मा एउटा सन्देश आयो। सन्देशमा वैदेशिक रोजगारीमा रहेका एक व्यक्तिले १२ वर्षको उमेरमा घरबाटै हराएकी आफ्नी छोरी दिल्लीको वेश्यालयमा बेचिएकाले छिटोभन्दा छिटो उद्धार गर्न आग्रह गरेका थिए। सन्देश पाएपछि प्रहरीले तत्कालै अनुसन्धान अगाडि बढायो।

किशोरीलाई दिल्लीको वेश्यालयसम्म पुर्‍याउने घटनाको शुरुवात ०७३ कात्तिकमा भएको थियो। त्यतिबेला दीपावलीको रौनक शुरु हुनै लागेको थियो। ९ कक्षामा पढ्ने किशोरीको मन भने भिन्नै कुराले तुलबुल भइरहेको थियो।

काठमाण्डौको पूर्वी भागमा बाबु आमासँग डेरा गरेर बसेकी उनलाई भाउजू (भाञ्जा दाइकी श्रीमती)ले अनोठौ सपना देखाउँदै घरबाटै लिएर हिँडेकी थिइन्। भाउजूले उक्साउँदै भनेकी थिइन्, ‘पढेर के गर्छौ रु भारत जाम। होन्डा कम्पनीमा मासिक २० हजार आउने जागिर मिलाई दिन्छु।’

नयाँ ठाम देख्न पाइने, रुचिअनुसारको कपडा लगाउन पाइने, मिठो खान पाइने र पैसा पनि कमाइने प्रलोभनको जालमा किशोरी परिहालिन्। उनलाई के थाहा, भाउजूले देखाएको नक्कली सपनाको बाटो हिँड्दा दिल्लीको कोठीमा पुगिन्छ भन्ने। अनि उनलाई के थाहा, नर्कजस्तो जिन्दगीको बाटोतर्फ आफूलाई हिँडाइएको छ भन्ने।

भाउजूसँगको सल्लाहमा उनी खुसुक्क घरबाट निस्किइन्। भाउजूले उनलाई नजिकैको बसपार्कसम्म ल्याइदिइन् र लामा थरकी एक साथीको जिम्मा लगाइदिइन्। ती युवतीले उनलाई कोटेश्वर हुँदै महोत्तरीको ढल्केवर पुर्‍याइन् र सिम्रन भन्ने सीता लामालाई जिम्मा लगाइन्।

सीताले किशोरीलाई वीरगन्ज लगेर एक रात राखी रक्सौल हुँदै दिल्ली पुर्‍याइन्। धनुषा बेंगाडाबर घर भई दिल्लीमा वेश्यालय सञ्चालन गरी बस्ने जोस्ना भनिने जुना खड्काले किशोरीलाई आफ्नो जिम्मामा लिइन् । प्रहरी अनुसन्धानले जुना र किशोरीकी भाउजूबीच पनि नाता सम्बन्ध रहेको देखाएको छ।

होन्डा कम्पनीको जागिर खाने सपना देखेकी किशोरी त्यतिबेला चकित परिन्, जतिबेला जुनाले उनलाई अश्लिल भिडियो देखाउँदै सोधिन्, ‘तिम्लाई यस्तो गर्न आउँछ ?’  जुनाका एक साथी थिए, दीपक। कलिली किशोरीलाई देखेपछि दीपकले भने, ‘यिनी नयाँ नै छिन्, तयार हुन एक महिना लाग्छ।’ त्यसपछिका केही साता उनले जुनाकै घरमा सरसफाइको काम गरिन्।

प्रहरीका अनुसार प्रत्येक दिन अश्लील सामग्री देखाउँदै किशोरीमा उत्तेजना ल्याउने प्रयास गरिएको देखिन्छ। जब उनीहरूलाई किशोरी तयार भइन् भन्ने लाग्यो, त्यसपछि नाम बदलेर सोनिया राखिदिए।

दिल्ली पुगेको १५ औं दिन किशोरीलाई जुनाले जबरजस्ती मदिरा ख्वाइदिइन् र एक ग्राहकसँग यौन सम्पर्कका निम्ति बाध्य पारिन्। किशोरीले प्रहरी बयानमा त्यस्तो कामबापत जुनाले ५० हजार भारतीय रुपैयाँ बुझेको बताएकी छन्।

किशोरीलाई जुनाले लगाएको काम स्वीकार्य थिएन तर उनी परिबन्दमा परेकी थिइन्। घर फर्कन्छु भनेर जिद्दी गरेपछि जुनाले भनिन्, ‘तिम्लाई १५ हजारमा किनेको हो। पैसा फिर्ता गरे पठाइदिन्छु।’ आफूलाई दिल्ली पुर्‍याइ दिएबापत जुनाले १३ हजार रुपैयाँ र एउटा मोबाइल सेट भाउजूलाई पठाइ दिएको बयान पनि किशोरीले दिएकी छन्। त्यसपछिका दिन सजिला रहेनन्।

प्रत्येक दिन जबरजस्ती मदिरा पिलाउने र यौन सम्पर्कका निम्ति बाध्य पार्ने क्रम चलिरह्यो। प्रत्येक दिन ३ देखि ५ जनासँग यौन सम्पर्कका निम्ति बाध्य पारिएको किशोरीले बताएकी छन्। उनले भनेकी छन्, ‘जुनाले एक रात ग्राहकसँग बसेबापत १५ हजार र एक पटक यौन सम्पर्क राखेबापत ५ हजार लिने गर्थिन्।’ साँझ ढल्किन थालेपछि मानिसहरू आ–आफ्नो घरतिर कुद्थे।

उनलाई भने वेश्यालय लगिन्थ्यो र ग्राहकसँग रात काट्न लगाइन्थ्यो। किशोरीले राति ९ देखि बिहान २–३ बजेसम्म आफूलाई विभिन्न ग्राहकसँग सुताइने गरेको प्रहरीलाई बताएकी छन्। जुनाले कतिपय ग्राहकसँग घण्टाअनुसार पनि रकम लिने गरेको किशोरीले बताइन्।

बयानका क्रममा उनले आफूसहित तीन–चार किशोरीलाई केही पैसावालसँग घण्टौंसम्म सामुहिक यौन सम्पर्कका निम्ति समेत बाध्य पारिएको बताएकी छन्। जुनाले बेला–बेला उनलाई सिंगार्न ब्युटीपार्लर लैजान्थिन् । नयाँ कपडा किन्दिथिन् अनि फोटो खिचेर विभिन्न ग्राहकलाई पठाउँथिन्।

किशोरीलाई यौनधन्दाका निम्ति तयार पार्न भन्दै जुनाले हर्मोन वृद्धि गर्ने खालका औषधि इन्जेक्सनमार्फत दिएको देखिन्छ। उद्धार गरिएकी किशोरीलाई मानव बेचबिखन ब्युरोले वीर अस्पतालमा स्वास्थ्य परीक्षणका लागि पठाएको थियो। अनुसन्धानमा संलग्न एक अनुसन्धान अधिकारीले धेरै दूध दिनका निम्ति गाईलाई लगाइने इन्जेक्सन समेत किशोरीलाई लगाएको सुनाए। -कान्तिपुर दैनिकबाट