काठमाण्डौ / ‘नेपालीका लागि नेपाली’ अभियानबाट ज्ञानेन्द्र शाहीलाई निस्कासन गरिएको छ। बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उहाँलाई निस्कासन गर्ने निर्णय गरेको हो।

अभियन्ता बालकृष्ण न्यौपानेले शाहीलाई निकालिएको जानकारी दिनुभयो। सिद्धान्त नै नमिलेपछि उहाँलाई निस्कासन गरिएको बताउनुभयो। मंसिर १ गतेदेखि अभियानको सिद्धान्तविरुद्ध गणतन्त्र र संघीयताको पक्षमा अभिव्यक्ति दिँदै हिड्न थालेपछि कुनै पनि जिम्मेवारीमा नरहनेगरी निस्कासन गरिएको बताइएको छ।

अभियानले राजतन्त्रका बारेमा वकालत गर्दै आएको थियो। तर शाहीले पछिल्लो समय राजतन्त्र विरोधी र गणतन्त्रको पक्षमा बोल्न थालेपछि निस्कासन गरेको सार्वजनिक गरिएको निर्णयमा उल्लेख छ।

नेपालीका लागि नेपाली अभियानले संघीयता, धर्मनिरपेक्षता खारेजी लगायतका एजेण्डासहित गतिविधि गर्दै आएको छ।