काठमाण्डौ / १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भलिबलका खेल बुधबारदेखि सुरु हुने भएको छ। प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ। बुधबार हुने महिलातर्फको उद्घाटन खेलमा नेपालले बंगलादेशको सामना गर्नेछ। महिलातर्फ नै बुधबार माल्दिभ्स र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। १३औं सागको औपचारिक उद्घाटन मंसिर १५ गते हुने भए पनि भलिबल भने चार दिन अगाडि नै सुरु हुन लागेको हो। अन्य खेलहरू भने मंसिर १५ बाट मात्रै सुरु हुनेछ।

सागमा नेपाली महिला भलिबल टोलीले यसअघि भएका तीनवटै संस्करणमा कांस्य पदक जित्दै आएको छ। १०औं, ११औं र १२औं सागमा कांस्य पदक जितेको नेपाली टोली यस पटक उत्कृष्ट नतिजा दिने अभियानमा छ। अरुणा शाहीको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीले अन्तिम तयारी गरिरहेको छ।

यसैगरी पुरुषतर्फको खेलमा पनि नेपालले बुधबार बंगलादेशकै सामना गर्नेछ। पुरुषतर्फको एक मात्रै खेल साँझ ७ बजे सुरु हुनेछ। नेपाली टोलीको नेतृत्व इम रानाले गरेका छन्। पुरुष टोलीले भने अहिलेसम्म सागमा पदक जित्न सकेको छैन।