फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन र रियल मड्रिड च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् । सान्टियागो बर्नाबाउमा भएको रोमाञ्चक खेलमा दुई गोलले पछि परेको पीएसजीले खेलको उत्तरार्धमा दुई गोल गर्दै बराबरीमा पुर्‍याएको थियो।

समूह ए अन्तर्गत क्लब ब्रुगे र गलातासारेबीचको खेल १–१ गोलको बराबरीमा सकिएपछि दुवै टिम खेल्नुभन्दा केही समयअघि नै अन्तिम १६ को यात्रा पक्का पारिसकेका थिए।

करिम बेन्जेमाले दुई गोल गर्दै रियललाई अग्रता दिलाए। जिदाने फर्किएपछि सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेको रियलका लागि बेन्जेमाले १७औँ मिनेटमा नै अग्रता दिलाएका थिए। पहिलो हाफमा रियलले सोही अग्रता कायम राख्यो । खेलमा रियलले कुल दशवटा सट पीएसजीको पोस्टमा प्रहार गरेको थियो।

७९औँ मिनेटमा मार्सेलोको पासमा बेन्जेमाले अर्को गोल गरेपछि रियलले २–० को अग्रता लिएको थियो।

८१औँ मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई खेलमा फर्काए। त्यसको दुई मिनेटपछि नै पाब्लो सारावियाले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा पुर्‍याए।

खेलको अन्तिम समयमा ग्यारेथ बेलको फ्रिकिकले पीएसजीका गोलकिपरलाई बिट गरेको अवस्थामा बल पोस्टमा लागेर फर्किँदा रियलले जितको मौका गुमायो।

बराबरीपछि पीएसजी समूह विजेता बन्न सफल भएको छ।