बागलुङ / बागलुङको चिल्ड्रेन लाइफ इंलिस बोर्डिङ स्कुलमा अध्ययनरत एक विद्यार्थीले ब्याट्रीबाट चलाउन सकिने मोटरसाइकल बनाएका छन्। कक्षा ९ मा अध्ययनरत गणेश श्रेष्ठले पुरानो मोटरसाइकलका विभिन्न पार्ट जोडेर बनाएको सवारी साधनलाई ‘इलेक्ट्रिक बाइक’ नाम दिएका छन्।

श्रेष्ठले ४८ भोल्टको मोटर, ४ वटा लिड एसिड ब्याट्री, एउटा १२ भोल्टको ब्याट्री, २० एम्पियरको फ्युज, १ पिस कन्ट्रोलर, १ एक्सीलेरेटर र बाइकको पुरानो फ्रेम प्रयोग गर्नुभएको छ। लामो समयदेखि युट्यूबमा हेर्ने गरेको र अहिले अथक अभ्यासपछि पेट्रोलबिनै चलाउन सकिने इलेक्ट्रिक बाइक निर्माण गरेको उहाँ बताउनुहुन्छ।

गत साउनदेखि सुरु गरेको इलेक्ट्रिक बाइक बनाउने काम अहिले बल्ल सकिएको उहाँले बताउनुभयो। उहाँले निर्माण गरेको इलेक्ट्रिक बाइकको विद्यालय परिसरमा सयौं अभिभावक र विद्यार्थीका बीच गुडाएरै परीक्षण र प्रर्दशनीसमेत गरिएको थियो।